टिपरबाट दुर्घटना बढेपछि भैरहवा-बुटवल सडकमा प्रहरीको ‘टेंगो होटल’ अप्रेसन

लोकपथ
1.3k
Shares

भैरहवा । टिपर-हाइवाबाट दुर्घटना बढेपछि प्रहरीले ‘टेंगो होटल’ अप्रेसन सुरु गरेको छ । बुटवल भैरहवा ६ लेन सडकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको संयुक्त आयोजनामा अप्रेसन सुरु गरिएको हो ।

दुर्घटना न्यूनीकरण गर्न सडकअन्तर्गतको मधवलियामा अस्थायी डेस्क बनाई प्रहरी सहायक निरिक्षकको कमान्डमा चेकजाँच कार्यक्रमअन्तर्गत अप्रेसन सुरु गरिएको छ ।

बुधबारबाट सुरु भएको चेकजाँच बिहान ६ बजेबाट ४ बजेसम्म हुने गरेको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ भएको चेकजाँचमा ओभरलोड, भम्बर लोड, टिपर र हाइवाको कागजपत्र तथा नवीकरण, नम्बर प्लेट, ओभरस्पीड, टाइम कार्ड, पानी चुहिनेलगायतका चेकजाँच हुने गरेको जिल्ला ट्राफिक कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए ।

‘अधिकांश दुर्घटना र कारवाही टिपरबाट हुने गरेकोले संयुक्त रूपमा अभियान चलाइरहेका छौ, एक सातमा केही सुधारको नतिजा आए, यसलाई केही समय निरन्तरता दिने छौं,’ प्रहरी निरीक्षक केसीले भने, ‘अपरेसनबाट ट्राफिक प्रहरीले टिपरबाट हुने त्रुटिहरूको पहिचान हुने र सच्चिएर जाने विश्वास छ ।’

अभियानअन्तर्गत चालकलाई लेन अनुशासन र सचेतना दिने, नियम विपरीत भए कारवाही र जरिवाना काट्ने गरेको डेस्कमा खटिएका प्रहरी सहायक निरीक्षक मधुप्रसाद बन्जाडेले बताए । ‘बुधबार १५८ वटा, बिहीबारसम्म १४७ वटा ट्रिपर हाइवा चेकजाँच गरेका छौं, यो अभियान केही समय निरन्तर हुने छ,’ उनले भने । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न, ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ‘चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारवाही, आफु बचौँ अरुलाई बचाऔं’ लगायतका अभियान चलाएको छ ।

रूपन्देहीमा चालू आर्थिक वर्षको पुस मसान्तसम्म ७९ वटा दुर्घटना भएको छ । दुर्घटनाबाट ६३ वटा सवारीसाधनमा क्षति पुगेको छ । दुर्घटनामा परी ४८ जनाको मृत्यु भएको कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा सबैभन्दा मोटरसाइकल, ट्रक, टिपर, ट्याङकर, टयाक्टर संलग्न हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?