कमल थापाले पार्टी छोडेपनि केही असर पर्दैन : अध्यक्ष लिङ्देन

लोकपथ
273
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेपनि केही असर नपर्ने बताएका छन् ।

अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताएका हुन् । राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडी बढ्ने उनले बताए । अध्यक्ष लिङ्देनले भने – ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जिवनमा अगाडी बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडी बढ्छौँ ।’

उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आव्हान गरे । पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडी बढ्ने भन्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्नेमा विश्वास व्यक्त गरे ।

अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुर्नविचार गर्न आग्रह समेत गरेका छन् । थापाको यस निर्णयले उनकै राजनीतिक भविष्य समेत नरहेको भन्दै उनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे । उनले भने – ‘हामीले औपचारिक रुपमै भनेका छौँ यो निर्णयबाट हामी दुखित छौँ । यो निर्णय सच्याउन, यो निर्णयमा पुर्नविचार गर्न आग्रह गर्छौ भनेर भनेका छौँ र अहिले पनि यो सञ्चार माध्यममार्फत् पनि उहाँलाई आग्रह गर्न चाहान्छु, उहाँ स्वयम्को राजनीतिक भविष्यका लागि समेत यो निर्णय सच्याउनु उचित हुन्छ । राम्रो हुन्छ । फलदायि हुन्छ र राप्रपा सदैव उहाँको लागि ढोका खुल्ला गरेर बसेको छ ।’

निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उनले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको उल्लेख गरे । छलफलका क्रममा सँगै काम गर्ने समझदारी बनेको भएपनि थापाले पार्टी छोडेको उनले स्पष्ट पारे ।

निवर्तमान अध्यक्ष थापाले राप्रपा छोड्न गरेको निर्णय उनको एकल निर्णय भएको अध्यक्ष लिङ्देनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?