काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीमा आफ्नो मागको सुनवाइ नभएपछि पार्टी परित्याग गर्नु परेको बताएका छन् ।
गृह नगर हेटौडा पुगेर थापाले एक विज्ञप्ति जारी गरी आफनो मागको सम्वोधन नहुने भएपछि पार्टी परित्यागको अप्रिय निर्णय लिनु परेको जनाएका हुन् । विज्ञप्तिमा उनले राप्रपाका कुनै नेतासँग बैरभाव नभएको उल्लेख गरेका छन् ।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीवाट अलग हुने निर्णय गरेको छु’, थापाले उल्लेख गरेका छन्, ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरा बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कृष्ट चाहाना भए पनि आफ्नो कुराको सुनुवाइ नुहने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’
सोमबार काठमाडौंमा आफू निकट राप्रपाका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको अलग भेला गरेका अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा भने गृहजिल्ला मकवानपुर पुगेर गरेका हुन ।
‘राप्रपामा रहदाँ पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुवाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु’ थापाले पूर्वउपप्रधानमन्त्रीको हैसियतमा लेखेको पत्रमा भनिएको छ, ‘पार्टीमा रहँदा बिताएका क्षणहरुप्रति म सदैव गौरव गरिरहनेछु, राप्रपाको कुनै साथीहरुसँग मेरो बैरभाव छैन, सबैको भलो होस् भन्ने कामना गर्दछ ।’
थापा गत मंसिर १५–१८ मा भएको महाधिवेसनमा अध्यक्ष राजेन्द्र लिङदेनवाट पराजित भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पराजित गराएको गुनासो थापाले गर्दै आएका थिए । उनले २७ मंसिरमा अध्यक्ष लिङदेनलाई पत्र लेखेर सो बिषयमा छानबिनको माग गरेका थिए । उनले १६ माघमा स्मरणपत्र लेखेको भए पनि सुनुवाइ नभएको आरोप थापाले लगाउँदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया