गृह प्रशासनलाई सुधार गर्नुपर्ने आवश्यक्ता छ : गृहमन्त्री खाँण

लोकपथ
91
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले मुलुकमा शान्ति स्थापनाका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका हुन् । द्रुत विकासको चाहनालाई पूरा गर्न मुलुकमा शान्ति आवश्यक रहेको भन्दै उनले गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले मुलुकलाई शान्त र सम्मुन्नत बनाउन मद्दत गर्ने बताए । संविधानले दिएको मौलिक अधिकारहरुलाई स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको आवश्यकता रहेको उनले उल्लेख गरे । गृहमन्त्री खाँणले भने– ‘गृह प्रशासन र सुरक्षामा लगाइएको प्रदान गरिने बजेटले राष्ट्रलाई शान्त र सम्मुन्नत गराउन मद्दत गर्छ । सरसर्ती हेर्दाखेरी यसलाई बिकास बजेटको रुपमा नहेरियतापनि मुलुकको द्रुत विकासको चाहानालाई पुरा गर्नका लागि पनि मुलुकमा शान्ति आवश्यक छ । र शान्ति स्थापना गर्नका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लानुपर्ने पनि हाम्रो औचित्य र आवश्यकता छ । यो संविधान बनिसकेपछि संविधानमा मौलिक अधिकारहरु जनताको चाहाना अनुसार, आवश्यकता अनुसार नै व्यवस्थापन गरिएको छ । ति जनताका मौलिक अधिकारहरु स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको त्यति नै ठुलो आवश्यकता छ । त्यसकारण यो गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को निर्माण गरिएको छ ।’

गृहमन्त्री खाँणले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरुको तथ्यांक र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताए । अध्यागमनका गेटहरुलाई आधुनिकिकरण गर्नुपर्ने पनि उनले बताए । पछिल्लो समय भिजिट भिजामा विदेशिने र त्यहाँ गएर रोजगारीको शिलशिलामा नेपालीहरु भौतारिएका विभिन्न घटनाहरु आइरहेको भन्दै यस सम्बन्धमा सम्बन्धित मन्त्रालयहरुले संयुक्त रुपमा गम्भिरतापूर्वक कदम चालिरहेको पनि उनले उल्लेख गरे । उनले भने– ‘अध्यागमनलाई प्रयोग गर्नेको संख्या दिनानुदिन बढिराखेको छ । विभिन्न खालका सुरक्षालाई गम्भिर पार्ने खालका गतिविधि पनि विभिन्न ठाउँमा भएका छन् । त्यसकारण नेपाल आउने मान्छेको पनि यथार्थ प्रोफाइल अध्यागमनसँग रहन सकोस् या सुरक्षा निकायसँग रहन सकोस् । र नेपालबाट बाहिर जानेहरुको पनि तथ्यांक पनि होस् र के प्रयोजनका लागि जाने हो त्यसै प्रयोजनमा त्यहाँ उहाँहरु रहनुहोस् भन्ने नै हाम्रो प्रयत्न हो । त्यसकालागि पासपोर्ट पनि नयाँ प्रविधियुक्त हुँदै जाने र त्यही अनुसार अध्यागमनबाट आवत्जावत् गर्ने क्रममा अध्यागमन गेटहरुलाई पनि हामीले अत्याधुनिकरण गर्नुपर्ने त्यस्तो अवस्था छ । अहिले पछिल्लो पटक भिजिट भिसामा जाने तर त्यहाँ गइसकेपछि भ्रमण गर्ने र फर्किने भन्दापनि त्यहाँ फेरी विभिन्न रोजगारीको खोजीमा नेपालीहरु विदेशमा भौतारिने । यसमा सम्बन्धित मन्त्रालयले पनि गम्भिरतापूर्वक कदम चालिराखेको छ । गृह, परराष्ट्र, पर्यटन र श्रम मन्त्रालयले हामीले संयुक्त रुपमा नेपालीहरुको यात्रा सुव्यवस्थित हुन सकोस् । यहाँबाट जाने बेलामा पनि सहजतापूर्वक जानुहोस् र जुन देशमा, जुन गन्तव्यमा उहाँहरु पुग्नुहुन्छ त्यहाँ पनि सुरक्षित रुपमा रहनुहोस् र जे प्रयोजनका लागि गएको हो त्यही प्रयोजनका लागि आफ्नो भिजालाई प्रयोग गर्नुहोस् भन्ने नै हाम्रो प्रयत्न हो ।’

गृहमन्त्री खाँणले बदलिँदो परिवेश अनुसार गृह प्रशासनको उत्तरदायित्व र कार्यशैलीमा गतिशिलता ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यशैलीलाई पनि तिव्र गतिमा आधुनिकिकरण गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?