सवारी दुर्घटना : ६ जनाको मृत्यु

लोकपथ
168
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने कैयाँै घाइते भएका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-१२ स्थित सडकमा रोकी राखेको ना.२ ख ९७७२ नम्बरको ट्रकमा लु.३ च ४४४२ नम्बरको कार ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा कारमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कारका चालक बुटवल उपमहानगरपालिका(१२ बस्ने ३० वर्षीय नेवार नबिन श्रेष्ठ, सोही ठाउँ बस्ने २८ वर्षीय सविन थारु र २९ वर्षीय गोबिन्द चौधरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी पर्सा, जिराभवानीपुर गाउँपालिका-४ भवानीपुरस्थित सडकमा बा.५५ प ६५२८ नम्बरको मोटरसाइकल र ना.४ त ८१४६ नम्बरको ट्याक्टर ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही गाउँपालिका(४ भवानीपुर बस्ने ३० वर्षीया बिद्यादेवी र उनकै छोरी ४ वर्षीया अन्या कुमारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि लैजाने क्रममा अन्याको बाटोमै र विद्याको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५० वर्षीय रामाधार महतो थारुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणामा लिएको छ ।

त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकमा बागमती प्रदेश ०३००२ प ६८८० नम्बरको स्कुटरलाई एनएल ०१ एन २९९९ नम्बरको ग्याँस बुलेटले आइतबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही उपमहानगरपालिका-१० टिसियन रोड बस्ने ५१ वर्षीय बुद्धि बहादुर श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ग्याँस बुलेटका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?