कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्छिन् । १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन् । तीन सन्तानकी आमा उनले श्रीमानबाट कहिल्यै राम्रो व्यवहार पाइनन् । पतिले उनलाई सधैँ घरको नोकरजस्तै सोँचिरहे र कहिल्यै राम्रो बोलिबचनसम्म गरेनन् ।
सन्तान नहुर्कुञ्जेल रुपाले यी सबै व्यवहार सहेर बसिन् । उनलाई सन्तान हुर्किसकेपछि श्रीमानले गर्ने दुव्र्यबहार बिरुद्ध आवाज उठाउन मन लाग्यो । वैवाहिक जीवनको २३ वर्षपछि उनले अगल हुने निर्णय गरिन् । ‘‘मलाई श्रीमान्ले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिएनन् । खान लाउन दिए, धन सम्पत्ती दिए तर इज्जत दिएनन्’’, उनले भनिन्, ‘‘दम्पत्ती भनेका जोडी हुन् । जोडी बराबर भए पो जीवन सजिलो हुन्छ । मैले सधैँ मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर उनले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने ।’’
रुपा श्रीमानले दास सम्झने व्यवहारकै कारण आफू मिलेर बस्न नसकेको बताउँछिन् । ‘‘उहाँ अरु केही गलत हुनुहुन्नथ्यो्, म आत्मसम्मान गिरेको महसुस गर्न थालेँ, उहाँले कहिल्यै बुझ्नु भएन’’, उनले भनिन्, ‘‘मनमुटाव विस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निर्णय ग¥यौँ ।’’सम्बन्ध विच्छेदपछि हाल उनले सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थालेकी छन् । उनी आजभोलि सामाजिक जीवनमा सक्रीय छन् र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्छिन् ।
कैलालीकै रमा धामीलाई पनि श्रीमानको व्यवहार पटक्कै मन पर्दैन । उनी श्रीमानले जीवनसाथीको जस्तो व्यवहार गरुन भन्ने चाहन्छिन् । प्रेम विवाह गरेकी उनले सुरुआति दिनमा श्रीमान्बाट साथीजस्तै व्यवहार पाउँथिन् । विवाहपछि व्यवहार बदलियो । ‘‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौँ, परिवारको सहमतिमा विवाह भयो’’, उनले भनिन्, ‘‘भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमान्को नाम लिएर बोल्ने सभ्यता नभएकी रहेछ भनी कुरा काटे ।’’
परिवार र छिमेकीले कुरा काटेपछि उनलाई अप्ठ्यारो प¥यो । उनले बोलीबचनमा सुधारमा गरिन् । परिवार र समाजले चाहेजस्तै शब्दले सम्बोधन गरिन् तर उनका श्रीमान्ले थप बोली र व्यवहार बिगारे । तिमी भनेर बोल्ने श्रीमान्ले तँ भनी सम्बोधन गर्न थाले । ‘‘हामी विवाहपछि बराबरी रहेनौँ, हाम्रो हैसियत समेत बदलियो’’, उनले भनिन् ।
दम्पत्ती भनेका जीवनसाथी हुन् । जीवनसाथीको व्यवहार साथीजस्तै हुनुपर्छ । तर हाम्रो समाजमा जीवनसाथी बराबरी व्यवहार गर्ने निकै कम छन् । सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन् ।‘‘हरेक श्रीमानले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ । श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसामात्र गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ’’, शिक्षक झपट कडायतले भने, ‘‘परिवारका सदस्यले पनि दम्पत्तीका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ ।’’
बलियो र दीगो सम्बन्धका लागि जसरी श्रीमतीले श्रीमानलाई साथ दिन्छिन् यसैगरी श्रीमानले समेत साथ दिन आवश्यक छ । अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम सदियौँदेखि चलिरहँदा समाजमा महिलाहरु महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउँछिन् । ‘‘विवाहमा माया र सम्मान आवश्यक हुन्छ । यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पत्ती र परिवारले नै लिन नसकेको देखिन्छ’’, उनले भनिन्, ‘‘आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको संख्या समेत बढेको देखिन्छ । सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन् ।’’
अधिबक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्ध विच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउँछन् । ‘‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्ध विच्छेदका भएका छन् ।उनी पुरुषले माया देखाउन नजान्दा र महिलाको कानूनीरुपमा पाएको अधिकार प्रयोग गर्ने मानसिक क्षमता कम भएकाले घटना बढ्न थालेको बताउँछन् । ‘‘महिलालाई अहिले कानूनले धेरै अधिकार दिएको छ । अधिकार प्रयोग गर्न क्षमतामा कमी छ ’’, उनले भने, ‘‘समान अस्तीत्व स्वीकार गरी महिलाको क्षमता विकासमा ध्यान दिनुपर्छ ।’’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया