बिहीबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग पुनःसञ्चालन भएको छ । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्ग र सिलगढी साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध भएका थिए । हिउँ पन्छाएपछि अवरुद्ध राजमार्ग आज साँझादेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
स्थानीय तहका डोजर, नेपाली सेना तथा प्रहरीले हिउँ पन्छाएपछि राजमार्ग सुचारु भएका हुन् । राजमार्ग सञ्चालन भएपछि दुई दिनदेखि अलपत्र परेका यात्रु र सवारीसाधन आआफ्नो गन्तव्यतर्फ लागेको ट्राफिक प्रहरी पोष्ट बुडरले जनाएको छ । भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वर तथा पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेलगायत ठाउँमा बाक्लो हिमपात भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया