धनगढीमा विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

लोकपथ
91
Shares

धनगढी । धनगढीमा आगामी फागुन २ गतेदेखि विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) छैटौं संस्करण फागुन २ गतेदेखि हुने शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

सो प्रतियोगिताको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने भएको छ । लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन १४ गतेसम्म सञ्चालन हुने एलपीएल–६ को मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने जानकारी दिइएको छ । आयोजक र धनगढी उपमहानगरपालिकाबिच सम्झौता समेत भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले उपमहानगरले खेल र खेलाडीको स्तर वृद्धिका लागि आफूहरूले यो क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताए । ‘हामले क्रिकेटमा एलपीएललाई विगतबाट निरन्तर प्रोत्साहन प्रदान गर्दै आएका छौँ,’ उनले भने, ‘क्रिकेटमा मात्र हैन फुटबल तर्फ पनि हामीले खप्तड गोल्ड कप देखि अन्य स–साना प्रतियोगितालाई प्राथमिकतामा राखेका छौँ । यस्तै प्रयासहरूबाट अहिले एलपीएल खेलेका खेलाडी राष्ट्रिय स्तरका अन्य प्रतियोगितामा राम्रो छाप छोड्न सफल भएका छन् । यी प्रतियोगिताहरू खेलाडी उत्पादन र खेल क्षेत्रको स्तरोन्नतिका लागि महत्वपूर्ण बन्दै गएका छन् ।’

लिटल फ्लावर प्रिमियर लिग निरन्तर छैटौं संस्करणसम्म सञ्चालन भइरहेको प्रति खुसी व्यक्त गर्दै नगर प्रमुख वडले यसलाई अझै परिष्कृत बनाएर अघि बढ्नुपर्ने बताए ।

प्रतियोगिताको विजेतालाई एक लाख ५० हजार र उप–विजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीलाई १०÷१० हजार प्रदान गरिनले शाहीले जानकारी दिए ।

प्लेयर अफ द म्याचका साथै आसन्न संस्करणबाट प्रत्येक खेललाई थप रोमाञ्चक बनाउन गेम चेन्जर अवार्ड र सर्वोत्कृष्ट छक्का अवार्ड समेत थप गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा काठमाडौं, कैलाली र कञ्चनपुरका १० विद्यालय स्तरीय क्रिकेट टिमको सहभागिता रहने छ । जसमा प्रत्येक टिमले चार जना विद्यालय बाहिरका १९ वर्ष मुनिका खेलाडी समेत राख्न पाउने छन् । आसन्न संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल, उप कप्तान शेर मल्ललगायतका खेलाडी समेत सहभागी हुनेछन् ।

प्रत्येक टिमलाई दुई समूहमा विभाजन गरी समूह चरणमा एउटा टिमलाई ४-४ वटा खेल खेलाइन् छ । प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा भइरहेको भन्दै उनले मैदान निर्माणको काम सम्पन्न हुने तयारीमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?