सर्वदलीय सहमतिमा एमसीसी अनुमोदन गर्नुपर्छ : गुरुराज घिमिरे

लोकपथ
0
Shares

काठमाडौं । हाल विवाद र बहसमा रहेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सर्वदलीय सहमतिमा अनमोदन गनुपर्ने धारणा राखेका छन् ।

नेता घिमिरेले नेपाली कांग्रेस एमसीसीको पक्षमा हो भन्नेमा दुई मत नभएको बताए । उनले यस विषयमा उब्जिएका शंका, प्रश्न, गुनासोको सम्बोधन गर्ने दायित्व सरकार र राजनीतिक दलको रहेको बताउँदै सो बारेमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताएका छन् । ‘एमसीसी कसैको व्यक्तिगत प्रयोजनको लागि नभई राष्ट्रविकासको लागि आएको सहयोग भएकोले सर्वपक्षीय, सर्वदलीय सहमतिको आधारमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

‘जुनसुकै राजनीतिक दलमा आस्था राख्ने नेपाली जनताले एमसीसीको विषयमा प्रश्न उठाएपछि त्यसलाई स्पष्ट बनाउने जिम्मा सरकार र राजनीतिक दलहरूको हो’, उनले भने, ‘कांग्रेसले केन्द्रीय समितिको बैठकमा छलफल गरेर संस्थागत धारणा बनाउनुका साथै अन्य दललाई पनि स्पष्ट धारणा बनाउन लगाउनुपर्छ’ ।

नेता घिमिरेले गठबन्धनमा कांग्रेससहित सबै दलहरूले संस्थागत धारणा तय गरेर अघि बढ्नुपर्ने बताए । ‘राष्ट्रिय सहमति नभई अन्तरर्राष्ट्रिय सहयोग आउन सम्भव छैन, संसदबाट अनुमोदन गरेर लिनुपर्ने सहयोग भएकाले सर्वदलीय सर्मथनविना लिन मिल्दैन’, उनले भने ।

गठबन्धनमा भएका सबै दलको समर्थनमा एमसीसी अनुमोदन गराउनुपर्ने उनको धारणा छ । उनले सरकार र यसको पक्षमा रहेका राजनीतिक दलले एमसीसीको विरोधमा रहेका दलहरूलाई कन्भिन्स गराउन सक्नुपर्नेसमेत बताए ।

नेपाली कांग्रेसको सबै पक्षले एमसीसीको समर्थन गरेको देखिए पनि केन्द्रीय समितिको बैठक बोलाएर एमसीसीबारे छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्नु जरुरी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?