स्थानीय तहमा योजनाका काम धमाधम

RSS
105
Shares

काठमाडौँ । काठेखोला गाउँपालिकाका प्राविधिक शाखाप्रमुख विनोद शर्मा माघ लागेपछि अन्य समयमा भन्दा व्यस्त छन् । उनलाई उपभोक्ताका काम गर्न भ्याइनभ्याई छ । वडा तहमा विनियोजन भएका योजनाको लागत अनुमान बनाउने र काममा उपभोक्ता समितिलाई सहयोग गर्न प्राविधिक लागिपरेका छन् ।

शर्मासँगै उनको शाखाका इञ्जिनियर र सबओभरसियर पनि व्यस्त छन् । जैमिनी नगरपालिकाका इञ्जिनियर विवेक सापकोटा कहिले मोटरसाइलमा दौडिन्छन् त कहिले पैदलै उपभोक्ताले काम गर्ने स्थलमा पुग्छन् । उनलाई पनि कामको चटारो छ । जैमिनी नगरपालिकाले माघ १५ गतेसम्म मात्रै योजनाको सम्झौता गर्ने भनेको थियो ।

कोरोना लगायतका कारण देखाउँदै केही समय थप भएको भए पनि उपभोक्ता समितिमार्फत गर्नुपर्ने कामको सम्झौता सक्नै पर्ने चाप छ । फागुनको पहिलो सातापछि योजना सम्झौता गर्नेमा नगरपालिका छैन । बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले बिदाको दिनसमेत उपभोक्ताको काम गरिरहेका छन् ।

वडा तहमा पुग्ने र योजनाको स्थलगत अध्ययन गरेर अनुमान बनाउन बागलुङ नगरको प्राविधिक शाखालाई पनि चटारो छ । कोरोना महामारीका कारण कार्यालय बन्द हुँदा योजनाको अनुगमन र अनुमान तयार गर्ने काम नरोकिएको हो । एकातर्फ कोरोना महामारीको चपेटो छ भने अर्कोतर्फ स्थानीय तहको निर्वाचन हुने चर्चाले स्थानीय तहमा काम गर्न उपभोक्तालाई चटारो छ ।

चुनाव घोषणा हुँदा विनियोजित योजनासमेत प्रभावित हुने भएकाले निर्वाचनको मिति घोषणा नहुँदै योजना सम्झौताका लागि वडा तहमा दबाब छ । बागलुङका १० वटै स्थानीय तहले सोही अनुसार काम गरिरहेका छन् । अधिकांश स्थानीय तहले ७५ प्रतिशत योजनाको सम्झौता सकेका छन् ।

‘समयमै काम सक्नुपर्छ भनेर लागेका छौँ’ शर्माले भने, ‘पहिलेका वर्षमा जस्तो कोरोनाका कारण विकासे योजनाका काम रोकिएका छैनन् ।’ बागलुङ नगरपालिकाले योजना सम्झौताका लागि अन्तिम मिति नतोकेको भए पनि फागुनभित्रै सबै योजनाको सम्झौता सकेर काम सुरु हुने शर्माले बताए ।

जिल्लामै सञ्चालनमा रहेका संघीय तथा प्रदेश स्तरका योजना कोरोनाका कारण देखाउँदै काम रोकेर बसेका बेला स्थानीय तहले भने धमाधम गरिरहेका छन् । मध्यपहाडी लोकमार्ग बागलुङ–बिहुँखण्ड र बलेवा विमानस्थलको कालोपत्र गर्ने काम कोरोना महामारीको कारण देखाएर रोकिएका छन् ।

‘हामीले सुरक्षित भएर काम गर्न उपभोक्तालाई भनेका छौँ, निर्माणस्थलमा धमाधम काम भइरहेको छ’, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भने, ‘कोरोनाको प्रभाव नगन्य छ ।’ असारे विकास रोक्न र हिउँदमा काम गर्दा सबै हिसाबले उपलब्धिमूलक हुने भएकाले नगरका विनियोजित योजनाका कामलाई अघि बढाउन ताकेता गरिएको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?