मोरङ हत्या प्रकरण : बेपत्ता तेस्रो व्यक्तिको शव ललितपुरमा फेला

लोकपथ
1.1k
Shares

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकास्थित धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ । मोरङ हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको हो ।

मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले अर्को शव बरामद गरेको हो ।

यस हत्या प्रकरणमा पक्राउ परेका आरोपी अनिल कुमार मण्डलको बयानको आधारमा प्रहरीले बेपत्ता रहेका तेह्रथुमका मोहन लिम्बुको शव पनि फेला पारेको हो । उक्त शव करिब एक महिनाअघि गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसअघि मोरङ धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट माघ १३ र १४ मा दुईवटा शव निकालिएको थियो । माघ १३ मा भेटिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको छ । अर्को शव सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतक र पक्राउ परेका सबै जना जग्गा कारोबारी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?