एमसिए–नेपालले भन्यो- ‘एमसीसी नेपाल सम्झौतामा कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज छैन’

लोकपथ
403
Shares

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नभएको स्पष्ट पारेको छ ।

हालै एमसीसीको बारेमा छलफलका लागि बनाइएको कार्यदलले केही लुकेका प्रतिवेदनहरु फेला परेको भन्ने भनाइपछि एमसीए नेपालले आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीए नेपालले एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य नराखिएको बताएको छ ।

‘एमसिए–नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसिए–नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरित हुन्छ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी प्रसारण लाइनमा पर्ने ३२ वटा गाउँपालिका तथा नगरपालिकामा सार्वजनिक सुनवाइका क्रममा सबैलाई पहुँच उपलब्ध गराइएको तथा नेपालको वातावरण संरक्षण ऐन अन्तर्गत सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेको सार्वजनिक दस्तावेज ‘वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन’ लाई समेत गोप्य भन्नु आफ्नै देशका निकायहरूको उपेक्षा गर्नु रहको एमसीएको भनाइ रहेको छ ।

साथै गोप्य भनिएका ती कुनै पनि दस्तावेज एमसीसीसँग गरिएका सम्झौता नभएको समेत एमसीए नेपालको दाबी रहेको छ ।

एमसिए–नेपालले कुनै पनि दस्तावेज गोप्य रूपमा नराखी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको जानकारी गराउँदै यस्ता गलत सूचनामा विश्वास नगर्न र नगराउन अनुरोध गर्दै कुनै पनि दस्तावेज प्राप्त गर्नका लागि कार्यालयमा सम्पर्क राखिएमा सूचनाको हक सम्बन्धी ऐन अन्तर्गत दस्तावेजहरु उपलब्ध गराइने जानकारी समेत गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?