‘सीमान्तकृत र उपेक्षित वर्गको आयको सुनिश्चितता भएमा मात्रै सच्चा सहिदको सम्मान हुन्छ’

लोकपथ
650
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सहिदहरुको सपना सार्थक बनाउन सीमान्तकृत, उपेक्षित र निरपेक्ष गरिबीका रेखामुनी रहेकाहरुको आयको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् ।

सदिहहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेता केसीले यदी सीमान्तकृत, उपेक्षित वर्गमा सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति दिन नसकिएमा सहिद दिवस मनाउनु केवल कर्मकाण्डीको रुपमा मात्रै रहेको टिप्पणी गरे ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘नेपाल र नेपालीको परिवर्तन, मुक्ति, प्रजातन्त्र, समृद्धि एवं स्वाभिमानी जीवनका लागि प्राणको आहूति दिने महान सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली, तब मात्र पूर्ण र प्रमाणित हुन्छ, जब कृतज्ञ राष्ट्रले उनीहरूका सपना सार्थक र साकार पार्ने कटिबद्धताका साथ ब्यवहारमा उतार्छ । जबसम्म सीमान्तीकृत, उपेक्षित र निरपेक्ष गरिबी रेखा मुनिका हरुको आयको सुनिश्चितता र सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति दिन सकिन्न तब सम्म यो दिवस मनाउने कार्य केवल कर्मकाण्डी मात्र हुन्छ । ’

सहिदहरुले राष्ट्रको प्रेरक रुप र नेपाली जनताको स्वाभिमान, सम्मान र प्रगतिको निमित्त त्याग, संकल्प र बलिदानका प्रतिमूर्तीबाट प्राप्त योगदानले सिर्जित आजको अवस्थामा उनीहरुको श्रद्धाका लागि भन्दा पनि सपनासँग आफ्ना संकल्प गास्ने प्रेरणाको समारोहको रुपमा सहिद दिवस मनाउनुपर्ने आवश्यक रहेको नेता केसीको जोड रहेको छ ।

उनले भनेका छन्, ‘राष्ट्रको प्रेरक रुप र नेपाली जनताको स्वाभिमान ,सम्मान र प्रगतिको निमित्त त्याग, संकल्प र बलिदान का प्रतिमूर्ति सहिदहरुबाट प्राप्त योगदान ले निर्मित आजको अवस्थामा वहाँहरुको उचित मार्गदर्शन ग्रहण को रुपमा मनाइने सहिद दिवस केवल लोकाचार पुर्याउने श्रद्धारहित ‘श्राद्ध’ मात्रै होइन, शहिदका सपनासँग आफ्ना संकल्प गाँस्ने प्रेरणा समारोहको रुपमा मनाउनु आवस्यक छ।’

त्यसैगरी सहिद घोषणाले प्रियतावादी सस्तो राजनीतिले सहिदहरुको महत्वकै अवमूल्यान गर्ने दृष्टता गरेको भन्दै असन्तुष्टि जनाउँदै मुलुकको संविधान, युगान्तकारी परिवर्तन, विधिको शासन र लोकतन्त्रलाई नै सहिद बनाउने नियतको बोलवाला बनिरहेको टिप्पणी समेत गरेका छन् । सोही प्रशंगमा विधिविहिन, अपारदर्शी र भ्रष्ट राजनीतिको दबदबामा सहिदका समग्र सपना नै सदिह हुने खतरा बढेको बताए ।

उनले भने, ‘मुलुकको संविधान, युगान्तकारी परिवर्तन, विधिको शासन र लोकतन्त्रलाई नै शहिद बनाउने नियतको बोलवाला बढिरहेको देखिन्छ । यस्तै हो भने, विधि विहिन,अपारदर्शी र भ्रष्ट राजनीतिको दबदबामा शहीदका समग्र सपना नै शहीद हुने खतरातिर मडारिएको देखिन्छ।’

देशमा लोकतन्त्र प्राप्तीका लागि विभिन्न समयमा आफ्नो ज्यानको आहुती दिने सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज देशभर सहिद दिवसका विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?