नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको एक दशकभन्दा बढी भइसकेको छ, तर सुदूरपश्चिम प्रदेशमा भने अझै पनि कुष्ठरोगको चुनौती कायमै छ ।
सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा नै वर्षेनी नयाँ कुष्ठरोगी पहिचान हुने क्रम जारी रहेको छ । प्रदेशमा वर्षेनी दुई सयदेखि तीन सय नयाँ कुष्ठरोगीहरूको पहिचान भइरहेको तथ्यांकले देखाएको छ ।
सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७५-७६ र २०७६-७७ मा कुष्ठरोगीहरूको संख्यामा केही कमी आए पनि गत आर्थिक वर्ष २०७७-७८ मा पुनः कुष्ठरोगीहरूको संख्यामा वृद्धि भएको छ ।
स्वास्थ्य निर्देशनालय, दीपायलका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७४-७५ मा दुई सय ९८ नयाँ कुष्ठरोगीहरू थपिएका थिए । त्यसको अर्को वर्ष २०७५-०७६ मा नयाँ रोगीहरूको संख्यामा केही कमी आएर दुई सय ५४ मा झरेको थियो । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशमा एक सय ३७ जना नयाँ कुष्ठरोगी थपिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ
प्रदेशमा दुई आर्थिक वर्षको अवधिमा नयाँ कुष्ठरोगीको वृद्धिदरमा केही कमी आए पनि पुनः आर्थिक वर्ष २०७७÷७८ मा वृद्धि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा प्रदेशमा दुई सय आठ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका थिए । तीमध्ये दुई सय २२ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन् ।
गत आर्थिक वर्षमा प्रदेशका कैलाली र कञ्चनपुरका दुई-दुई र अछामका एक जना गरी पा“च जनामा कुष्ठरोग पुनः बल्झिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, गत आर्थिक वर्ष २०७७-७८ मा कैलालीका १२, अछामका दुई तथा बैतडी, बझाङ र अछामका एक÷एक गरी १७ जना कुष्ठरोगीहरूमा अपाङ्गता समस्या भएको छ । गत आर्थिक वर्षमा नयाँ फेला परेका कुष्ठरोगीमध्ये ९० जना महिला र छ जना बालबालिका रहेका छन् ।
चालू आर्थिक वर्ष २०७८-७९ को पुस मसान्तसम्म प्रदेशमा ८६ जना नयाँ कुष्ठरोगीहरू फेला परिसकेका छन् । स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्यांकअनुसार कैलालीमा सबैभन्दा बढी विरामी रहेका छन । सो तथ्यांकअनुसार कैलालीमा पुस मसान्तसम्म ५२ जना नयाँ कुष्ठरोगीहरू फेला परेका छन् ।
त्यस्तै, अछाममा १६, कञ्चनपुरमा १२, डोटीमा तीन, बझाङ, बाजुरा र डँडेल्धुरामा एक÷एक नयाँ बिरामी फेला परेको जनाइएको छ ।
नयाँ बिरामी फेला परेकामध्ये ४९ जना महिला रहेका छन् भने चार जनामा पुनः रोग बल्झिएको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य निर्देशनालयका अनुसार यस अवधिमा दुई सय ४९ जना कुष्ठरोगीहरू उपचाररत रहेका छन् । त्यस्तै, ११ जना विभिन्न किसिमका शारीरिक अपाङ्गता समस्या देखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रतिएक लाख जनसंख्यामा नयाँ बिरामी पत्ता लाग्ने दर आठ प्रतिशत रहेकोे स्वास्थ्य निर्देशनालयले जनाएको छ । कैलाली, कञ्चनपुर र अछाममा नयाँ कुष्ठरोगी पत्ता लाग्ने दर उच्च रहेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ४५ जना महिला र १० जना बालबालिकामा कुष्ठरोग देखापरेको थियो ।
निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा एक सय १२ जनामा १२ महिना उपचार गर्नुपर्ने नयाँ बिरामी फेला परेका थिए । भने पाँच जनामा कुष्ठरोगका कारण अपाङ्गताको समस्या देखिएको थियो ।
सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगका कारण हुने अपाङ्गताको दरमा पनि घटबढ भइरहेको तथ्यांकले देखाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा आर्थिक वर्ष २०७३-७४ मा कुष्ठरोगका कारण २० जना शारीरिक रूपमा अपाङ्ग भएका थिए । सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगका कारण अपाङ्ग हुने संख्या आर्थिक वर्ष २०७४-७५ मा २२ तथा आर्थिक वर्ष २०७५-७६ मा १७ जना रहेको थियो ।
नेपाल सरकारले २०६६ साल माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । सरकारले प्रतिदश हजार जनसंख्यामा एक प्रतिशतभन्दा बढी कुष्ठरोगी रहेको जिल्लालाई कुष्ठरोगको बढी जोखिम रहेको मानेको छ । सुदूरपश्चिम प्रदेशमा हाल प्रतिदश हजार जनसंख्यामा शून्य दशमलव ७८ जना कुष्ठरोगका बिरामी उपचारमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र अछाममा कुष्ठरोगको बढी जोखिम रहेको छ । तथ्यांकअनुसार कैलाली जिल्लामा ०७६-७७ मा एक सय २२ जना उपचाररत रहेका छन भने कञ्चनपुरमा ४५ र अछाममा २९ जना उपचाररत रहेका छन् ।
कैलालीमा आर्थिक वर्ष २०७४÷०७५ मा एक सय ६०, आर्थिक वर्ष २०७५-०७६ मा एक सय ७६ जना कुष्ठरोगी उपचारमा रहेका थिए भने आर्थिक वर्ष एक सय २२ जना उपचाररत थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७७-७८ मा एक सय ३४ र चालू आर्थिक वर्षको पुस मसान्तसम्म एक सय ४५ जना उपचाररत छन् ।
त्यस्तै, अछाममा आर्थिक वर्ष २०७४-०७५ मा ३३, आर्थिक वर्ष २०७५-०७६ मा ५१, आर्थिक वर्ष २०७६-७७ मा २९ र आर्थिक वर्ष ०७७-७८ मा २६ जना कुष्ठरोगी उपचारमा थिए भने चालू आर्थिक वर्षमा ४१ जना उपचारमा रहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले दिएको तथ्यांकअनुसार कञ्चनपुरमा २०७४-७५ मा ७३, आर्थिक वर्ष २०७५÷०७६ मा ४६ जना, आर्थिक वर्ष २०७६-७७ मा ४५ र आर्थिक वर्ष २०७७-७८ मा ३८ जना उपचारमा थिए भने चालू आर्थिक वर्षमा ३६ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा कुष्ठरोगीका बिरामीको संख्या घटबढ भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
समाजमा अझैं पनि कुष्ठरोगीप्रति गरिने अपहेलना तथा विभेदको व्यवहार र सोचका कारण कुष्ठरोगको लक्षण देखापरे पनि बिरामीहरू उपचारका लागि आउन संकोच मान्नेगरेको पाइन्छ ।
उपचार गरेमा कुष्ठरोग निको हुन्छ र अङ्गभङ्ग हुनबाट जोगिन्छ भन्ने जानकारीको कमीका कारण अझै पनि स्वास्थ्यकर्मीले खोजपडताल गरेर बिरामी पत्ता लगाएर उपचार प्रक्रियामा ल्याउनुपर्ने अवस्था रहेको प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशी बताउँछन् ।
निर्देशक डाक्टर जोशीले शरीरमा जुनसुकै रंगको नदुख्ने र नचिलाउने तथा लाटो दाग देखिएमा तुरून्त स्वास्थ्य संस्था वा अस्पताल गएर उपचार गराउन आग्रह गरे । उनले कुष्ठरोग लागेको सुरूवाती चरणमा उपचार गराएमा शरीरमा अंगभंग हुनबाट जोगिने बताए । उनले ढिलो गरी उपचार गराउ“दा रोग निको भएपछि शरीरमा भएको क्षति हटाउन नसकिने बताए ।
तथ्यांकअनुसार ढिलो गरी कुष्ठरोगको उपचार गराउन आएका कारण नेपालमा ३० हजारभन्दा बढी नेपालीहरू अपाङ्ग भएका छन् ।
देशका विभिन्न जिल्लामा कुष्ठरोगीको संख्या बढ्दै गएपछि नेपाल सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । सन २०२१ पुरा भई २०२२ लाग्दा समेत प्रदेशमा झन कुष्ठरोगीहरूको संख्या बढ्दै गइरहेको छ ।
‘संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव छ । तीन तहका सरकारले कुष्ठरोग निवारणका लागि विशेष अभियानको थालनी गर्नुपर्ने हुन्छ’ कुष्ठरोग क्षेत्रमा काम गरिरहेका नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) नेपालका सुदूरपश्चिम प्रदेश फिल्ड संयोजक मुकेश पन्तले भने, समाजमा लुकेर बसेका कुष्ठरोगीहरू उपचारमा आइरहेका छैनन् । हामीले शंकास्पद गरेका व्यक्तिहरूलाई नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गराउन सल्लाह दिइरहेका हुन्छौँ तर, अर्कोपल्ट सम्पर्क गर्न खोज्दा सम्पर्कविहीन हुन्छन । विभेदको सामाजिक सोचका कारण उनीहरू उपचारमा आउन चाहँदैनन् । उपचारमा आएका व्यक्तिहरूले पनि नियमित औषधि सेवन गर्दैनन् । जसले गर्दा पुनः रोग बल्झिने गरेको छ ।’
नेपाल सरकारको कुष्ठरोग निवारण नीति २०१६ ले बालबालिकामा हुने कुष्ठरोग र कुष्ठरोगका कारण हुने अपाङ्गता दर शून्यमा झार्ने र कुष्ठरोगको दर प्रतिएक लाखमा एकभन्दा कममा झार्ने लक्ष्य लिएको छ । तर, सुदूरपश्चिम प्रदेशमा अझै पनि कुष्ठरोगका कारण हुने अपाङ्गता दरमा सुधार हुन नसकेको तथ्यांकहरूले देखाइरहेको छ ।
सरकारले अहिले शून्य कुष्ठरोगको लागि (सन् २०२१–२०३०) राष्ट्रिय मार्गचित्र लागू गरेको छ । सोअनुसार पालिकास्तरमा कुष्ठरोगको संक्रमण रोक्ने लक्ष्य लिइएको छ ।
कोरोना महामारीले दिवस प्रभावित
आज ६९औँ विश्व कुष्ठरोग दिवस । विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर हरेक वर्ष मनाइने यो दिवस यस वर्ष भने प्रभावित भएको छ ।
कोरोना महामारीको तेस्रो लहरका कारण कुनै पनि गोष्ठी, समारोह, अन्तरक्रियालगायतका कार्यक्रमको आयोजना नगरिने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
‘कोरोना महामारीका कारण यस वर्ष हामीले भव्य कार्यक्रमको आयोजना नगर्ने भनेका छौँ’ एनएलआरका प्रदेश फिल्ड संयोजक मुकेश पन्तले भने, ‘प्रदेश भरीमा रहेका रेडियो तथा एफएममा कुष्ठरोगसम्बन्धी जानकारीमूलक सामाग्री र रोगका विशेषज्ञ चिकित्सकहरूसँग संवादलगायतका कार्यक्रम प्रसारण गर्ने भनेका छौँ ।’
यस वर्ष यो दिवसलाई सफल पार्न ‘शून्य कुष्ठरोगको लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने नारा दिइएको छ ।
कुष्ठरोग दिवस १८५३ मा फ्रान्सका मानवतावादी रोयल फोलेरेयुले सुरु गरेका थिए । त्यस्तै, भारतमा महात्मा गान्धीको मृत्युपछि उनको स्मृतिलाई समेत जोडेर विश्व कुष्ठरोग दिवस जनवरी महिनाको अन्तिम आइतबार मनाउँदै आइरहेको छ ।
विश्व कुष्ठरोग दिवस मनाउनुको मुख्य उद्देश्य नै कुष्ठरोग नै नहुने अवस्था ‘शून्य कुष्ठरोग’ हुनु हो । कुष्ठरोगसम्बन्धी विभिन्न तथ्यहरू हेर्दा अझै पनि यो हाम्रो समाजमा लुकेर रहेको छ र यससम्बन्धी फरक–फरक अवधारणहरू पाइन्छन् ।
कुष्ठरोग के हो ?
कुष्ठरोग आ“खाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोग मानिसबाट मानिसमा सर्छ ।
उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ ।
सुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई सर्दैन । यो रोग बहुऔषधिको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका किटाणुलाई शिथिल बनाई रोग अरूलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपाङ्गता हुँदैन । कुष्ठरोग पनि अरू रोगजस्तै साधारण सरूवा रोग हो । कुष्ठरोगका बिरामी र प्रभावितलाई सामाजिक भेदभाव नगरौँ ।
निवारणमा चुनौती
कुष्ठरोगका बिरामी तथा प्रभावितहरूप्रति सामाजिक भेदभावलाई शून्य बनाउने, गुणस्तरीय उपचार सेवाको निरन्तरता, रोगको संक्रमणलाई घटाई कुष्ठरोग शून्य समाज निर्माण गर्ने, कुष्ठरोग निवारणको स्थितिलाई दिगो राख्ने, प्रभावितहरूलाई समुदायमा आधारित पुनर्स्थापना, सबै नगर-गाउँपालिकाहरूमा कुष्ठरोग निवारण (प्रतिदश हजार जनसंख्यामा एकभन्दा कम बिरामी) गर्ने र कुष्ठरोगसँग सम्बन्धित जनशक्तिको व्यवस्थापन गर्न नसक्नु कुष्ठरोग निवारणमा देखिएका चुनौती हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया