चुनावसँग हामी आत्तिएका छैनौँ : माधवकुमार नेपाल

लोकपथ
494
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् ।

अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दावी समेत गरे ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि बताए ।

अध्यक्ष नेपालले भने, ‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं । चुनाव यदि जेष्ठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने सामना गर्न तयार छौं । असोजमा गर्ने हो भने सामना गर्न तयार छौं । स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । केन्द्रिय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । चुनावबाट हामी आत्तिएका छैनौं । जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौं । यस अर्थमा चुनावको कुराबाट बरु अरु आत्तिएका होलान । गठबन्धनको एकता तोडन खोजिरहेका होलान । भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान । अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन । नमिलेपछि गठबन्धन टुट्छ । टुटिसकेपछि त्यसको फाईदा उठाउला भनेर कोही त्यो मौकाको ताकमा पनि कोही होलान । तर आज बिहान भएको बैठकमा पनि नेपाली कांग्रेसका सबै नेताहरुले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता व्यक्त गर्नु भएको छ । स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसावको प्रतिवद्धता व्यक्त गर्नु भएको छ । गठबन्धन दलले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु । र, गठबन्धनले जहिले चुनाव गर्ने भन्छ, त्यसको निम्ति पनि म जान तयार छु भनेर भनि सकेको हुनाले त्यसमा कुनै पनि किसिमको शंका, उपशंका गर्नुपर्ने आवश्यक्ता छैन । अवश्य पनि नेपाली काँग्रेस भित्र र नेपालको राजनीतिमा देशीविदेशी शक्तिहरुको अनेक खालका दाउपेचहरु पनि छन । गठबन्धन टुटोस् भन्ने चाहना राख्नेहरु पनि छन । गठबन्धन टुटाउन सके हुन्थ्यो भन्ने खोजिरहेकाहरु पनि होलान । त्यस मामलामा सबैभन्दा चर्को रुपमा केपी ओली आफै लागेका छन । अनेक खालको भ्रम दिएर, अनेक खालको पासाहरु फालेर उनले दाउपेचहरु दिईरहेका छन । यो कुनै दाउपेचले चल्नेवाला छैन ।’

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पनि राखे । उनले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गते पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावी समेत गरे। अध्यक्ष नेपालले संवैधानिक व्यवस्था अनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरे ।

उनले भने, ‘स्थानीय तहको निर्वाचनबारे संविधानमा लेखिएको कुरालाई हामीले सबभन्दा पहिला ध्यानमा राख्नु पर्दछ । संविधानको धारा २२५ मा प्रष्ट लेखेको छ–कि गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भईसकेको समयदेखि ६ महिना भित्र निर्वाचन सम्पन्न गर्नु पर्नेछ । अर्थात सम्पन्न भएको पाँच वर्ष पूरा भएको समयदेखि ६ महिना भित्र अर्थात गाउँसभा र नगरसभाको चुनाव कहिले सम्पन्न भयो ? भनेर हामीले त्यो समयलाई हेर्नु पर्दछ । त्यो समयलाई हेर्ने हो भने अव विवाद जतिसुकै भएता पनि असोजको २ गते अन्तिम चुनाव भएको मितिलाई आधार मान्न सकिएला । या त्यसको पाँच दिन भनौ ७ गते चुनावको मतगणना भएको दिनलाई जोड्ने हो भने असोजको पहिलो, दोस्रो हप्ता भनेपछि ७९ सालको असोजको दोस्रो हप्तासम्मलाई मान्न सकिएला । र त्यसको ६ महिना भित्र, त्यसको ६ महिना भित्र भनेको चैत्रसम्ममा, यो सवालको बारेमा यसबारेमा अनेकौ भ्रम बाहिर पैदा गर्न खोजिएको छ । यो भ्रमलाई चिर्नुपर्ने आवश्यक्ता छ ।’

अध्यक्ष नेपालले कांग्रेस नेताहरु गठबन्धनमा आवद्ध दलहरुको सहमतीमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?