हामीकहाँ लोकप्रिय छन् अन्तर्राष्ट्रियरूपमा प्रतिबन्धित सामग्रीहरू

लोकपथ
1.7k
Shares

हामीले नियमितजसो प्रयोग गरिरहेका केही विदेशी उत्पादनहरूलाई विभिन्न देशले आफ्ना नागरिकलाई प्रयोग गर्न बन्देज लगाएको छ भन्दा तपाईँलाई अनौठो लाग्न सक्छ ।

हाम्रोजस्तो विकासशील मुलुक, सर्वसाधारणको क्रयशक्ति कम भएका कारण यस्ता किसिमका सामानहरू थाहा नपाएकै कारण हामीले नियमित रूपमा प्रयोग गरिरहेका छौँ । अझ भन्नुपर्दा विभिन्न देशले प्रतिबन्ध लगाएका केही खाद्य सामग्री, दैनिक उपभोगका सामग्रीहरू हाम्रो देशमा अत्यधिक रुचाइने गरेका छन् ।

किंडर ज्वोय

अण्डा आकारमा आउने किंडर ज्वोयको एकातर्फ चकलेट र अर्को भागमा खेलौना पाइन्छ । किंडर ज्वोय नेपालका सहरी क्षेत्रका बालबालिकामा अत्यधिक लोकप्रिय खानेकुरामै पर्छ ।

किंडर ज्वोयमा भएको खानेकुरा बालबालिकाको स्वास्थ्यलाई हानिकारक हुने देखिएपछि अमेरिकाले यसलाई आफ्नो मुलुकमा सेवन र बिक्रीवितरण गर्न प्रतिबन्ध लगाएको छ ।

यदि किंडर ज्वोय बोकेर अमेरिका गएको थाहा पाएमा उक्त व्यक्तिलाई साढे २ हजार डलर ९२ लाख ९७ हजार रूपैयाँ जरिवाना समेत गर्ने कानुन रहेको छ ।

जेली क्यान्डिज

जेली क्यान्डिजलाई जीवनमा एक पटक पनि नखाएको को होला र ? विभिन्न रङ्गमा आउने जेली क्यान्डिज अझ बालबालिकालाई धेरै नै मन पर्ने गुलियो पदार्थ मानिन्छ ।

जेली क्यान्डिजको सेवन गर्दा यो घाँटीमा अड्किएर श्वासप्रश्वासमा अप्ठ्यारो गरेर ज्यान समेत लिन सक्ने देखेर अमेरिका, क्यानडा र अस्ट्रेलियामा यसको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ । तर नेपालमा भने याे सर्वसुलभ रूपमै पाउने गरेको छ ।

रेड बुल

इनर्जी ड्रिंक्समा अत्यधिक रुचाइने रेड बुल नेपालमा पनि लोकप्रिय पेय पदार्थकै रूपमा पर्ने गर्छ । रेड बुलमा अखाद्य पदार्थको मात्रा बढी भएको कारण फ्रान्स, डेनमार्कमा यो पेय पदार्थलाई प्रतिबन्ध लगाइएको छ भने लिथुवानियामा १८ वर्षभन्दा कम उमेरका व्यक्तिले यसलाई किन्न समेत पाउँदैनन् ।

रेड बुललाई प्रतिबन्ध लगाएका देशहरूले यसको सेवनले मानिसमा हृदयाघात, शरीरमा पानीको कमी, मानसिक तनाव बढाउने किसिमका पदार्थहरू मिसावट रहेको जनाएका छन् । तर हाम्रोजस्तो देशमा रेड बुल लोकप्रिय पेय पदार्थको रूपमा मानिन्छ ।

अल्टो ८००

भारतको मारुती सुजुकी कम्पनीले निर्माण गरेको ‘अल्टो ८००’ कार नेपालमा अत्यधिक रुचाइएको सवारीसाधन नै मानिन्छ । सस्तो भएकै कारणले गर्दा पनि अल्टो ८०० को प्रयोग ट्याक्सी र निजी सवारी साधनको रूपमा नेपाललगायत भारतमा धेरै नै हुने गरेको छ ।

सवारीसाधनको निर्माण गर्दा त्यसमा सवार यात्रुको सुरक्षालाई विशेष रूपमा ध्यान दिनुपर्ने मान्यताविपरीत यो सवारीसाधनको निर्माण भएको मानिन्छ । जसका कारण यो कारलाई केही मुलुकहरूले आफ्नो देशमा चलाउन प्रतिबन्ध नै लगाएको छ ।

ग्लोबल एनसीपिए टेस्ट उत्तीर्ण नभएका सवारी साधनलाई असुरक्षित मानिने हुनाले अल्टो ८०० ले यो परीक्षणमा सफलता पाउन सकेको छैन । अल्टोसंगै टाटाको नानो कारले पनि यो परीक्षणमा सफलता पाउन नसकेको कारण धेरै देशमा प्रतिबन्धमा रहेको थियो ।

भिडियाेमा हेर्नुहाेला

लाइफब्वाइ साबुन

नेपालमा सर्वाधिक प्रचारप्रसार गरिने र धेरै नै प्रयोगमा आउने साबुनको रूपमा लाइफब्वाइ पनि रहेको छ । यो साबुनमा रहेको पदार्थले मानव छालालाई हानि गर्छ भन्ने कुरा प्रमाणित भएपछि अमेरिकामा यो ब्रान्डको साबुनलाई प्रतिबन्ध लगाइएको छ ।

केही स्थानमा पशुहरूलाई नुहाउन भने प्रयोगमा आउने गरेको छ । तर यो साबुन नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने लोकप्रिय साबुन मानिन्छ ।

भिक्स भेपर अप

नाक बन्द भएको बेलामा नाकलाई खोल्न र घाँटीको समस्यालाई हटाउन भिक्स भेपर अपको प्रयोग अत्यधिक हुनेगरेको छ । भारतमा निर्माण भएको भिक्स भेपर अपको प्रयोगले बन्द नाकलाई खुला गरे पनि यसलाई सुँघ्दा स्वास्थ्यमा अरू किसिमका समस्याहरू पनि देखिने गरेको छ ।

यही समस्यालाई बुझेर अमेरिका र युरोपका धेरै राष्ट्रहरूले यसको प्रयोगमा प्रतिबन्ध लगाएका छन् । तर नेपाल र भारतमा भिक्स भेपर अपलाई प्रतिबन्ध नलगाएको कारण यो औषधि पसललगायत अन्य पसलहरूमार्फत पनि बिक्रीवितरण भइरहेको छ ।

डिस्प्रिन

टाउको दुखेको बेला धेरै प्रयोगमा आउने औषधिको रूपमा डिस्प्रिन पनि रहेको छ । यो औषधिको प्रयोग व्यापक भएको कारण कतिपयको जनजिब्रोमै यो औषधिको नाम फ्याट्ट आउने गर्छ ।

भारतमा निर्माण भएको यो औषधि नेपालका अधिकांश औषधि पसलमा सर्वसुलभ रूपमै पाइन्छ । तर यो औषधिलाई कतिपय देशमा बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।

यो औषधिको सेवनले टाउको दुखेकोलाई सन्चो गरे पनि शरीरमा थप नकारात्मक प्रभाव पार्ने देखिएको कारण अमेरिका र युरोपका केही देशहरूमा प्रतिबन्ध लगाइएको छ । यस्तै गरी प्रचलनमा रहेका डी कोल्ड टोटल र निमुलिडलाई पनि ती देशहरूमा प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?