कांग्रेसको कार्यसम्पादन समितिमा कोको रहनेछन् ? यस्तो छ काम कर्तव्य र अधिकार

लोकपथ
585
Shares

काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समिति गठन गर्ने भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठनका लागि आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने बैठकमा कार्यसम्पादन समिति गठनको विषयमा छलफल हुनेछ । यसअघि देउवाले कांग्रेसका शीर्ष नेतासहित पदाधिकारीहरुसँग समेत त्यसबारेमा छलफल गरेका थिए ।

कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन् ।

अहिले कांग्रेसमा १४ जना पदाधिकारी छन् । यो समितिको बैठक प्रत्येक महिनामा एक पटक बस्नुपर्ने विधानमा व्यवस्था छ ।

तर, कार्यसम्पादन समितिलाई नीतिगत निर्णय गर्ने अधिकार भने छैन । कार्यसम्पादन समितिले गरेका निर्णयहरू लगत्तै बस्ने कार्यसमिति बैठकबाट अनुमोदन भने हुनुपर्छ।

बैठकको कार्यसूची तय नभए पनि स्थानीय तहको निर्वाचनबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । यसअघि कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग छलफल गरिरहेको भन्दै असन्तुष्टि जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?