काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेसँगै त्यसको चर्को आलोचना भएको छ ।
सबै क्षेत्र खुला रहेको अवस्थामा सवारीको संख्या मात्रै कम गर्नाले सवारी यातायातमा यात्रुको संख्या उही रहनाले कोरोना संक्रमणको जोखिम थप बढ्ने देखिन्छ ।
आम नागरिकबाट जोरबिजोर प्रणालीको विरोध हुन थालेपछि काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बैठक बसेर त्यसको विकल्प खोज्ने भएका छन् ।
सबैतिरबाट गुनासो आएसँगै अब तत्कालै सबै पक्षसँग छलफल गरेर निर्णय गर्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले लोकपथलाई जानकारी दिए ।
कोरोना संक्रमणको जोखिम अत्याधिक बढेपछि उपत्यकामा भिडभाड नियन्त्रणका लागि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गर्नुपरेको उनको भनाइ रहेको छ ।
‘जोरबिजोर प्रणाली मात्रै होइन जारी गरिएको आदेशकै विषयमा समेत सबैतिरबाट गुनासो आइरहेको छ । भिडभाड भयो कि भनेर हेर्ने कामहरु पनि भइरहेको छ । त्यसलाई कसरी व्यवस्थित बनाउने भन्नेमा अन्य सरोकारहरुसँग पनि छलफल गरेर के गर्दा भिडभाडलाई कम गर्न सकिन्छ ? र आम मानिसहरुको गुनासोलाई सम्बोधन गर्न सकिन्छ र संक्रमणको कारणले अलि नियन्त्रण गर्नुपरेको हो । र त्यो संक्रमण फैलिन नदिने अवस्थाको सिर्जना हुन्छ । त्यो विषयमा हामी अन्य सरोकारवालाहरुसँग पनि छलफल गर्छौँ’, उनले भने ।
तत्कालै बैठक बसेर कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्ने उनको भनाइ रहेको छ । उनका अनुसार आज या भोलि नै बैठक बस्नेछ ।
‘तीन जिल्लाका प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निर्णय गर्छौँ । बैठक बस्ने भन्ने कुरा भए पनि त्यसको मिति तोकिएको छैन । बैठक तत्काल आजभोलिमा नै बस्ने तयारी गरिरहेका छौँ’, उनले लोकपथसँग भने ।
काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्यामा अत्याधिक वृद्धि भएसँगै उपत्यकाका तीनै जिल्लामा माघ ७ गते रातिबाट जोरबिजोर प्रणाली लागू गरिएको छ ।
सबै क्षेत्र खुला रहेका बेला यातायातमा मात्रै जोरबिजोर प्रणाली लागू गरिनाले यातायातमा यात्रुहरुको भिडभाड बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया