५ दलीय गठबन्धनका उम्मेदवार १८ स्थानमा विजयी, निल हुनबाट जोगियो एमाले

लोकपथ
208
Shares

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी हुनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी भएका छन् ।

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की पनि निर्वाचित भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहरा र मदनकुमार शाह (गरिमा) निर्वाचित भएका हुन्। जनता (समाजवादी पार्टी नेपाल)का उम्मेदवार महम्मद खालिद र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा पनि आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरी निर्वाचित हुन सफल भएका हुन् । उनीहरू आगामी छ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माका अनुसार यस निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेकामा दुई हजार सात मत खसेको थियो । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । राष्ट्रियसभा सदस्यको यस निर्वाचनमा महिला, दलित अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूह गरी १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?