फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप हस्तान्तरण

RSS
91
Shares

काठमाडौं । कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ ।

यहाँस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले आजै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेका छन् ।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री खतिवडाले आवश्यकताको यो घडीमा फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता ज्ञापन गर्दै यो सहयोग नेपाल र युरोपेली संघका सदस्य राष्ट्रहरूबीचको मैत्रीको उदाहरण हो भने ।

राजदूत डेप्रेजले ‘आज फ्रान्स र इटालीले दिएका यी खोप र यसअघि जर्मनीले प्रदान गरेका खोप नेपालसँगको इयूको मित्रताको प्रतीक हो, यसले कोभिडविरुद्ध विश्वव्यापी एकता र बहुपक्षीय समाधानका लागि इयूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ’, भनेका छन् ।

आज फ्रान्सले छ लाख ८५ हजार ४ सय र इटालीले छ लाख ६३ हजार ६ सय मात्रा खोप हस्तान्तरण गरेका हुन् । यसअघि जर्मनीले पठाएको ४१ लाख मात्रा खोपमा थपिएर यो इयू सदस्य राष्ट्रहरूले उपलब्ध गराएको खोपको संख्या ५४ लाख पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?