कोरोना असर : श्रमिकको रोजगारी गुम्यो, श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि

काठमाडौं । कोरोना महामारीका कारण दुई वर्षयता धेरै नेपालीले विदेशमा काम गुमाए । विदेशमा रोजगारी गुमेपछि ठूलो संख्यामा श्रमिकहरू नेपाल फर्किएका थिए ।

तयारी अवस्थामा रहेका धेरैले वैदेशिक रोजगारीमा जाने अवसर पनि पाएका थिएनन् । तर, कोरोना महामारीको असर घट्दै गएपछि पछिल्लो केही महिनायता वैदेशिक रोजगारी फेरि पुरानै लयतर्फ उन्मुख भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका निर्देशक कुष्णप्रसाद भुषालका अनुसार गत साउनदेखि पुस २९ सम्मको पूर्वचरण श्रम स्वीकृति लिनेको संख्या ३ लाख १० हजार रहेको छ । यसरी दैनिक २ हजारको औसत संख्यामा सेवाग्राहीहरूले श्रम स्वीकृति लिइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता नै लगातार उकालो लागिरहेको हो ।

रोजगार विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३ सय ६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । त्यसमा १२ हजार ५ सय ३७ जना नयाँ श्रम स्वीकृति ९ संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिएकाहरू थिए ।

तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । जेठमा ७ सय ८७ ले मात्रै नयाँ श्रम स्वीकृति लिएका थिए ।

असारमा २० हजार ६ सय ५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए । जसमा १० हजार ७ सय जना नयाँ र अरु यसअघि विदेश गएर फर्केकाहरू थिए ।

सो अवधिमा अन्तिम चरणको श्रम स्वीकृति लिनेको संख्या १ लाख ५० हजारभन्दा केही बढी देखिएको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा निकै बढेको देखिन्छ ।

कोरोना महामारीका कारण घटेको अघिल्लो आर्थिक वर्षको सो संख्या कोरोना संक्रमण नियन्त्रण क्रमिक रूपमा हुन थालेपछि  अहिले बढ्न थालेको विभागका निर्देशक भुषालले बताए ।

अघिल्लो आर्थिक वर्षको श्रावण देखि पौष मसान्तसम्ममा ३० हजारले मात्रै श्रमस्वीकृति लिएका थिए । अहिले सो संख्याको १० गुणा बढी थपिएको देखिन्छ । कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेहरू निकै प्रभावित भएको उनले बताए ।

हालको अवस्थामा पनि दैनिक ५ सयदेखि १ हजार हाराहारीको औसत संख्यामा वैदेशिक रोजगारीमा गइरहेको तथ्यांक विभागसँग रहेको बताइएको छ ।

कोरोना संक्रमण देखिनुभन्दा अगाडि दैनिक २ हजार औसत संख्यामा विदेशीनेहरूको संख्या कोरोना महामारीका कारण घटेको निर्देशक भुषालले बताए ।

यसरी वैदेशिक रोजगारीमा जानेहरूको संख्या कोरोना महामारी देखिनुभन्दा अघिको तुलनामा घटेको देखिए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष क्रमिकरूपमा बढिरहेको हुँदा यसलाई सुखद मान्नुपर्नेमा विभागको निष्कर्ष छ ।

तर पछिल्लो समय कोरोनाको नयाँ भेरियन्टको संक्रमण फैलिरहेको सन्दर्भमा सो संख्यामा कमी आउने आकलनसमेत विभागले गरेकोे छ ।

वैदेशिक रोजगार विभागका अनुसार मुख्यरूपमा खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमानलगायतका देशमा पनि नेपालीहरू गइरहेका छन् ।

पछिल्लो चरण विदेशमा खोप अभियानपछि व्यवसायिक तथा औद्योगिक क्षेत्र चलायमान भएकाले श्रमिकको माग बढेकोले पनि विदेशिनेहरूको संख्यामा वृद्वि भएको विभागका अधिकारीहरूको भनाइ छ ।

बन्द भएका कतिपय उद्योग, व्यवसायलगायत अहिले सबै क्षेत्र सञ्चालनमा आएको र आर्थिक गतिविधि बढेका कारण विदेशमा श्रमिकको अभाव हुँदा विदेशीनेकोे संख्यामा उल्लेख्य सुधार आएको उनीहरूको तर्क छ ।

अबको केही महिना श्रमिकको माग बढ्दै जाने विभागको आकलन छ । यसले नेपालका बेरोजगार युवा र महामारीले ठप्प रहेको वैदेशिक रोजगार व्यवसायलाई लाभ मिल्ने बताइएको छ ।

अहिले श्रम गन्तब्य देशको नियमअनुसार स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने भएकाले विदेशिने नेपालीलाई विगतको भन्दा सकसको अवस्था छ ।

तोकिएको पीसीआर, खोप, क्वारेन्टिनजस्ता व्यवस्था पालना गर्नुपर्ने भएकाले विगतको जस्तो सहज अवस्था भने नभएको वैदेशिक रोजगारीमा जानेहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?