सरकारबारे राजपामा छलफल सुरु

काठमाडौँ– राष्ट्रिय जनता पार्टी राजपा भित्र सरकारमा सहभागी हुनेरनहुनेबारे छलफल सुरु भएको छ । राजपाको सोमबार सुरु राजनीतिक समिति बैठकमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले यसबारे प्रस्ट धारणा दिन सदस्यहरूलाई आग्रह गरेका छन् ।

 

‘सरकारले हामीलाई सामेल हुन बारम्बार भनिरहेको छ,’ ठाकुरले बैठकमा भने, ‘एउटा राजनीतिक दल सरकारमा नजाने भन्ने त हुँदैन तर गएदेखि किन र के सर्तमा जाने भन्ने प्रश्न उठ्छ । त्यसैले यसबारे साथीहरूको धारणा बाहिर आओस् ।’

त्यसलगत्तै महतोले संविधान संशोधनको विषयमा सरकारको धारणा, थुनामा परेका कार्यकर्ताको मुद्दा फिर्ता र सांसद रेशम चौधरीको शपथग्रहण गराउनुपर्ने माग पूरा नभएसम्म सरकारमा जान नहुने धारणा राखे । बैठकमा ठाकुर र महतोले मात्रै बोलेका थिए । ठाकुरले पार्टीको विधान बनाउने, महाधिवेशन गर्ने र पार्टीको वैधानिकता बचाउने सन्दर्भमा पनि समितिका सदस्यको धारणा मागेका थिएऽ  कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?