अपनाउनोस् यी बानी, जसले ‘हार्टअट्याक’ हुन दिँदैन

लोकपथ
624
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ ।

नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ । सूर्ती सेवन तथा अस्वस्थ खानपान नगर्ने र रक्सी सेवनलाई कम गर्दै जीवनशैलीमा ध्यान दिन सकेमा हृदयरोग नलाग्ने विज्ञ चिकित्सक (कार्डियोलोजिस्ट)हरु बताउँछन् ।

हामीमध्ये अधिकांशलाई हृदयरोग कति घातक हुन्छ भन्ने थाहा छ । तर पनि यसको मूल कारणलाई हामी नजरअन्दाज गरिरहेका हुन्छौं । जब हामी यसको उपचार गर्नतिर लाग्छौं, तब निकै ढिला भइसकेको हुन्छ । मानिस अमर प्राणी त होइन, तर पनि हृदयरोग लाग्न नदिन गाह्रो भने छैन ।

कार्डियोलोजिस्टहरुका अनुसार, हृदयरोगबाट बच्न स्वस्थ आहार, नियमित व्यायाम, स्तरीय निद्रा र समय समयमा विशेषज्ञ चिकित्सकलाई स्वास्थ्य जाँच गराउन सक्दा रोग नियन्त्रण गर्न सकिन्छ । विज्ञ चिकित्सकहरु हृदयरोगबाट बच्न यी ६ उपाय सुझाउँछन् :

दैनिक ४० मिनेट व्यायाम

हरेक मानिसले दैनिक ४० मिनेट व्यायाम गर्नु स्वास्थ्यका लागि उत्तम हुन्छ । चिकित्सकहरुका अनुसार, व्यायामले सातामा पाँच पटक तपाईंको कार्डियोभास्कुलर जोखिमलाई ३० प्रतिशत कम गर्न मद्दत गर्छ । तौल कम गर्न, ब्लडसुगर, ब्लडप्रेसर तथा कोलेस्टोरलको स्तर सुधार गर्न पनि व्यायाम अनिवार्य छ । व्यायामले त मानिसको यौनजीवनसमेत सुधार्ने चिकित्सकहरु बताउँछन् ।

आफूलाई खुसी राख्नुस् :

हृदयरोग कम गर्ने प्रमुख उपायमध्ये एक आफूलाई खुसी राख्नु हो । तनावमा बस्नु हृदय रोग मात्र होइन अन्य रोग पनि बढाउनु हो । हामीले सकेसम्म हाँस्ने प्रयत्न गर्नुपर्छ । हाँस्दा शरीरबाट एन्डोर्फोन हार्मोन बाहिरिन्छ, जसले ब्लडप्रेसर कम गर्न र ब्लड सर्कुलेसनमा सुधार ल्याउन मद्दत गर्छ । संसारका कतिपय ठाउँमा अहिले ‘लाफिङ क्लास’ सन्चालन गर्ने संस्था स्थापित छन् । त्यस्ता ठाउँमा गएर साथीहरुसँग हाँस्ने र आफूभित्रका तनावहरु कम गर्ने कार्य गर्न सकिन्छ । पछिल्लो समय ‘स्ट्रेस म्यानेजमेन्ट’का कक्षासमेत सन्चालन हुन थालेका छन् ।

स्तरीय निद्रा सुत्नुस् : 

शरीरलाई आवश्यक आरामले कतिपय रोग कम गर्ने चिकित्सकहरु बताउँछन् । राम्रो र स्तरीय निद्राले शरीरलाई आराम दिन्छ । यस्तो निद्राले मानसिक र हृदयरोग नियन्त्रणमा मद्दत गर्छ । चिकित्सकहरुका अनुसार, हामीले दैनिक सातदेखि आठ घण्टा सुत्नु आवश्यक छ ।

धुम्रपान र रक्सीबाट बच्नुस् : 

डब्ल्यूएचओका अनुसार, हृदयरोगको अधिकांश मामिला धुम्रपान र रक्सीका कारण वृद्धि भइरहेको छ । डब्ल्यूएचओको आँकडाले धुम्रपान र रक्सी नपिउनेको तुलनामा पिउनेमा अचानक हार्टअट्याकबाट हुने मृत्युको जोखिम आधा बढ्ने देखाएको छ । त्यतिमात्र होइन, यो खराब आदतले हाई ब्लडप्रेसर, स्ट्रोक र हार्ट फेलियरजस्ता रोगको जोखिम बढाइदिन्छ । रक्सीमा मोडरेसन कार्डियो प्रोटेक्टिभ तत्व हुन्छ, तर यसको अधिक प्रयोग मुटुका लागि हानिकारक हुन्छ ।

मोडरेसनमा खानुस् :

हामीले हरेक पटक खानेकुरा खाँदा तेलको मात्रा कम गर्न सक्नुपर्छ । वयस्क उमेरका मानिसले हरेक महिना आधा लिटर आलस, जैतुनलगायत ‘सेचुरेटेड’ तेलको प्रयोग गर्नु उत्तम हुन्छ । साग, बदाम, प्रोटिनको सेवन गर्न पनि राम्रो हुन्छ ।

नियमित स्वास्थ्य परीक्षण : 

फुल ब्लड काउन्ट, कोलेस्टोरल लेभल, किड्नी, लिभर तथा थाइरोइडका साथै ब्लडसुगर लेभल र इसीजी परीक्षण नियमित गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । स्वास्थ्यमा देखिने लक्षण तथा अवस्थाका अनुसार हृदयरोग विशेषज्ञसँग नियमित जाँच गराउनु पनि उत्तिकै आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?