काठमाडौं । पछिल्लो एक हप्तादेखि राहदानी विभागका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागको सेवा प्रभावित भएको छ ।
त्रिपुरेश्वरस्थित विभागका ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि विभागको सेवा प्रभावित भएको हो ।
विभागका सबैजसो कर्मचारी कोरोना संक्रमित भएपछि दैनिक सेवा लिन आउने सेवाग्राहीहरूलाई सेवा दिन समस्या भएको राहदानी विभागका प्रवक्ता सरदराज आरनले बताए ।
‘बाँकी रहेका कर्मचारीहरू पनि सबैलाई रुघाखोकी र स्वास्थ्यमा अन्य समस्या देखिएकोले सबैजसो कर्मचारी नै अस्वस्थ छन्’, उनले भने, ‘म आफैँ पनि अस्वस्थ छु ।’
कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि राहदानी विभागले अनलाइन माध्यमबाट सेवाग्राहीलाई सेवा दिन थालेको छ ।
अहिले दैनिक एक हजार औसत संख्यामा सेवाग्राहीहरूको अनलाइन आवेदन आउने गरेको विभागले जनाएको छ । निवेदन स्वीकृत भएका सेवाग्राहीले इमेल प्रिन्ट गरेर तोकिएको मिति र समयमा विभागको सम्पर्कमा आउने गरेका छन् ।
जसअनुसार अति आवश्यक र प्राथमिकताको आधारमा इमेलमार्फत दैनिक ३ सय जनालाई सेवा दिइरहेको विभागका प्रवक्ता आरनले बताए । उनले आकस्मिक सेवाग्राहीहरू अप्ठ्यारोमा नपरुन् भनेरै पनि सेवाप्रवाह बन्द नगरिएको बताए ।

कोभिड १९ सम्बन्धी नेपाल सरकारको मिति २०७८/९/३० को निर्णय तथा विभागका कर्मचारीहरूमा व्यापकरूपमा फैलिएको कोरोना भाइरसको कारण विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवाबाहेक विभागबाट प्रदान गरिने राहदानी सेवासम्बन्धी सेवा अनिश्चित समयका लागि सीमित गरिएको छ ।
साथै बुकिङ तथा टोकनसमेत हाललाई स्थगन गरिएको छ । अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने विभागले जनाएको छ ।
सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदनबारे विभागले दुई कार्यदिनभित्र इमेलबाटै जानकारी गराउनेछ ।
प्रशासन कार्यालयहरूबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया