हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवको बोली फेरियो, भन्छिन्-‘मेरो भनाइ कसैप्रति लक्षित छैन’

लोकपथ
299
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफूले दिएको विवादस्पद अभिव्यक्तिप्रति स्पष्ट पारेकी छिन् ।

गत माघ ५ गते बलिदानी दिवसका अवसरमा मन्त्री यादवले रौतहटको गौरमा फेरि गौरहत्याकाण्ड घटाउने भन्दै जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की समेत दिएकी थिइन् । उक्तप्रति उनको कडा आलोचना भई राजीनामा माग भएपछि सोमबार विज्ञप्ति जारी गर्दै त्यसको ढाकछोप गर्ने खोजेकी छिन् ।

मन्त्री यादवले विज्ञप्ति जारी गर्दैै उक्त दिन आफूले दिएको अभिव्यक्ति कसैप्रति पनि लक्षित नभएको र आफूले शान्तिपूर्ण विधिरप्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई विभिन्न माध्यमबाट अपव्याख्या गर्न लागेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् ।

‘त्यस सभामा मैले दिएको अभिव्यक्ति कसै प्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधिरप्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेकी छिन् ।

त्यसैगरी आफ्नो मन्तव्यलाई लिएर भ्रम फैलिएको बताउँदै आफूले कसैप्रति उत्तेजित पार्न उक्त भनाइ व्यक्त नगरेको समेत बताएकी छिन् । त्यसैगरी आफूले भनेको भनाइ कसैप्रति लक्षित नभएको बताउँदै त्यसलाई सामान्य रुपमा लिन समेत आग्रह गरेकी छिन् ।

‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सोप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछु’, उनले भनेकी छिन्, ‘मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सोप्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछु ।’

मिति : २०७८ माघ १० गते प्रेस बिज्ञप्ति 

आदरणीय सञ्चारकर्मी मित्रहरु, सबैमा हार्दिक अभिवादन !

नेपालमा संघीयता, लोकतान्त्रिक–गणतन्त्र, समावेशी लोकतन्त्र, नागरिक स्वतन्त्रता प्राप्तिका लागि मधेसी, आदिवासी–जनजाती, दलित, महिला, थारु, मुस्लिम, उत्पीडित जातजाति र अल्पसंख्यक समुदायहरुमाथि वर्षौदेखि कायम रहेको थिचोमिचो, शोषण, दमन, उत्पीडन, विभेद र असमानता अन्त्य गरी पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएको ऐतिहासिक मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहूति दिने महान वीर सहिदहरुको सम्झनामा उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न प्रत्येक वर्ष माघ ५ गतेलाई ‘बलिदानी दिवस’ को रुपमा मनाउँदै आएको सबैलाई सर्वविदितै छ । त्यसै क्रममा हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी यूवा संघ’ ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसै प्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधिरप्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझ्नि आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछु । मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछु ।

धन्यवाद!

रेणु कुमारी यादव मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?