रेबिजको आंशकामा दोर्पाचिउरीडाँडाका गाईबस्तुलाई खोप

लोकपथ
130
Shares
Caucasian farmer injecting cow with vaccine

खोटाङ । रेबिजको आंशकामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा खरबारीका गाईबस्तुलाई खोप दिइएको छ । र्‍याल चुहाउने, कराउने र मान्छेलाई झम्टने लगायतका समस्या देखिएको केही समयपछि एउटा बहर र एउटा ब्याउने गाई मरेपछि स्थानीयको आग्रहमा आइतबार नगरपालिकाको पशुसेवा शाखाको व्यवस्थापनमा गाईबस्तुलाई रेबिजविरुद्धको खोप दिइएको हो ।

गाईबस्तुमा रेबिजको लक्षण देखिएको भन्दै गाउँमा त्रास फैलिएपछि १६ वटा गाईगोरु र भैंसीलाई रेबिज विरुद्धको खोप दिइएको पशुसेवा शाखा प्रमुख गणेश आचार्यले बताए ।

स्थानीय मणिप्रकाश राई, पर्शुराम राई, मानबहादुर राई, श्यामबहादुर राई र खड्गबहादुर भुजेलको गाईबस्तुलाई खोप लगाइएको हो । पर्शुरामले गत मंसिरमा गोरुसँग साटेर लिएको बहरमा कराउने, मान्छेलाई झम्टने लक्षण देखिएको केही समयपछि ५ माघमा मरेको थियो ।

श्यामबहादुरको सोही लक्षण देखिएको ब्याउने गाई आइतबार मरेपछि गाउँमा रेबिजको आशंकामा त्रास फैलिएको थियो । गाउँघरमा भुस्याहा कुकुर बढेको बेला गाईबस्तुमा रेबिजको लक्षण देखिएकाले रेबिजको त्रास फैलिएको मनिप्रकाशले बताए ।

नगरपालिकाको पशुसेवा शाखाले भने गाईबस्तुमा रेबिज नभै निमोनियाको लक्षण देखिएकाले त्रास नमान्न आग्रह गरेको छ । रेबिज र निमोनियाको केही लक्षण उस्तै देखिने भएकाले त्रास मान्नुपर्ने अवस्था नभएको पशुसेवा शाखा प्रमुख आचार्यले बताए ।

‘पहिल्यै रेबिज देखियो भनेर भेटेरिनरी प्राविधिकलाई अनुगमनमा पठाएका थियौं, हामी आफै पनि पुगेर अध्ययन गर्दा गाईबस्तुलाई रेबिज लागेको पुष्टि भएन,’ आचार्यले भने, ‘खेतमा बाँधेको गाईबस्तुलाई चिसोले निमोनिया भएको हो । यद्यपि, त्यी गाईबस्तुसँग लसपस भएका अन्य गाईबस्तुलाई खोप दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?