म्याग्दीको बेनी नगरपालिका–१ मा तीन किलोमिटर ८०० मिटर सडक निर्माण गर्ने योजना चार वर्षमा पनि पूरा भएको छैन । बागलुङ–बेनी सडकको बेनपा–१ रत्नेचौरको भुवानेबाट हुलाकेडाँडा–खबरासम्मको सडक विस्तार र कालोपत्र गर्न सडक डिभिजन कार्यालय बागलुङले विसं २०७४ साउनमा नागार्जुन देव एण्ड सायर बिएन जेभीसँग रु १३ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
विसं २०७५ मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण विसं २०७६ मा सक्ने लक्ष्य थियो । ९० प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम दुई वर्षदेखि रोकिएको छ । निर्माण नसकिँदै पहिलो चरणमा भएको कालोपत्र उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको छ ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक निर्माण नसकिँदै जीर्ण र जोखिमयुक्त बनेको यातायात व्यवसायी लालबहादुर थापाले बताए ।
विसं २०७६ माघमा ७ देखि १० मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा पहिलो चरणको डिबिएसडी प्रविधिको कालोपत्र बिछ्याइएको थियो । कोरोना भाइरसको महामारी फैलिएपछि सोही सालको चैतमा गर्ने भनिएको दोस्रो चरणको कालोपत्र हुन सकेन । बर्खामा पहिराले तीन ठाउँमा सडक भासियो । धेरै ठाउँमा नाली पुरियो । कालोपत्र पनि उप्किएको छ । पहिरो पन्छाउने, मर्मत र दोस्रो चरणको कालोपत्र गर्न बाँकी छ । अधुरो कामलाई पूर्णता दिन ताकेता गरे पनि निर्माण व्यवसायीले अटेर गरेका पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताए ।
निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले भने पहिराले क्षति पुगेपछि थप गर्नुपर्ने कामको डिजाइनको भेरियसन अर्डर स्वीकृत नभएकाले ढिलाइ भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया