‘शहीद र वेपत्ता नागरिकका सपना मर्न दिने छैनौं’ : मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले शहीद र वेपत्ता नागरिकले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेकपा (माओवादी) ले सञ्चालन गरेको दीर्घकालिन जनयुद्धका क्रममा काठमाडौंबाट बेपत्ता पारिएका विपिन भण्डारी (सुशिल) र दिलबहादुर राई (प्रविण)को स्मृतिमा आयोजित “वेपत्ता योद्धाहरुको योगदान र वर्तमानमा हाम्रो दायित्व” विषयक कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।  

“हामी अहिले जुन राजनीतिक उपलब्धिको कुरा गर्दैछौं, त्यो सबै शहीद र वेपत्ता साथीहरुको योगदानका कारण हो ।” मन्त्री मगरले भने, “हाम्रा सपना अझै पुरा भएका छैनन, हाम्रो लडाई जारी छ ।”

माओवादी नेता विपिन भण्डारीबाट आफूले राजनीतिकरुपमा धेरै कुरा सिकेको बताउँदै मन्त्री मगरले व्यक्तिगत स्वार्थभन्दा जनताको हितलाई माथि राखेर राजनीति गर्नुपर्ने शिक्षा र प्रेरणा वहाँहरुबाट पाएको बताए । 

कञ्चनपुरबाट काठमाडौं आएको बेला राजनीतिक सचेतना र नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरणा र उर्जा दिने दर्जनौं साथीहरु शहीद र केही वेपत्ता भएको उनले बताए । “हामीले उहाँहरुले साँचेको सपना बिर्सेका छैनौं । उहाँहरुको योगदानकै कारण आज देशमा यति परिवर्तन भएको छ ।” मन्त्री मगरले भने, “तर उहाँहरुले खोजेको यतिमात्रै होइन, आम दुखी, मजदूर किसानको आँगनमा घाम झुल्किने व्यवस्था अझै आएको छैन । अहिले हामी त्यसकै लागि फेरी नयाँ संघर्षमा छौं ।”

मन्त्री मगरले वेपत्ताहरुको अवस्था सार्वजनिक गर्न पटकपटक बिभिन्न तहबाट प्रयास भएपनि कतिपय साथीहरुको अवस्था सार्वजनिक हुन नसकेकोमा दुख व्यक्त गरे । राज्यले यो विषयलाई उच्च प्राथमिकतामा राखेर तत्काल पहल गर्न समेत उनले  जोड दिए । 

शहीद र वेपत्ता स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा वेपत्ता परिवारलाई सम्मान गरिएको थियो । 

सोही कार्यक्रममा बोल्दै कानुन मन्त्री शेरधन तामाङले एउटा भिन्न परिस्थितिमा चलेको राजनीतिक आन्दोलनमा लागेवापत नै शहीद र वेपत्ता भएका तमाम नेपाली योद्धाहरुप्रति उच्च सम्मान रहेको बताए । उनले भने, “देशका लागि, जनताका लागि योगदान गर्ने, जीवन उत्सर्ग गर्नेहरु महान हुन, हाम्रो दायित्व उहाँहरुको सपना पुरा गर्ने हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?