एनआईसी एसियाको दोस्रो त्रैमास : सबै वित्तीय सूचक उत्साहजनक, १६ प्रतिशतले नाफा वृद्धि

निक्षेप ३ अर्ब पुग्यो

लोकपथ
299
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार दोस्रो त्रैमाससम्ममा बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

बैंकको यस अवधिमा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २७३.४६ अर्ब पुर्‍याउन सफल भएको छ ।

त्यस्तै निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (२२.०४ अर्ब)ले वृद्धि गरी कुल निक्षेप संकलन २९९.३४ अर्ब पुर्‍याउन बैंक सफल भएको छ ।

बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार दोस्रो त्रैमासमा खुद मुनाफातर्फ २.४० अर्ब आर्जन गर्न सफल भएकोे बैंकले जनाएको छ, जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

साथै, यस बैंकले वार्षिक प्रतिसेयर आम्दानी ४१.४३ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको बैंकको दाबी रहेको छ ।

यसअवधिमा बैंकले ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरूमार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आव २०७८/७९ को प्रथम त्रैमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, एटीएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रतिसेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो ।

हाल मुलुकभर बैंकको ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटाैँ ठूलो योगदान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?