अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नति

लोकपथ
78
Shares

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोस्राे श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले पनि सोको बारे प्रमाण पत्र अशोकलाई पठाइसकेको बताइएको छ ।

तेस्राे श्रेणीबाट दोस्राेमा पदोन्नति हुन करिब ३ वर्ष लागेको अशोकले जानकारी गराए । तेक्वान्दोको र्‍याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लेका हुन् ।

तेस्राेबाट दोश्रोमा उक्लन कम्तीमा ८ अंक आवश्यक पर्दछ । करिब ३ वर्षको अवधिमा अशोकले ७ प्रतियोगिता र ३ रिफ्रेसर कोर्ष (एक अनलाइनसहित) मा सहभागिता जनाइ १० अंक प्राप्त गरे । अशोकअघि तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ र रविन्द्र मल्ला मात्र अन्तर्राष्ट्रिय दोस्राे श्रेणीका रेफ्री थिए ।

अशोकले सन् २०१९ मा मात्र ५ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरे भने २ रिफ्रेसर कोर्षमा सहभागी भएका थिए । त्यस अवधिमा उनले जोर्डनमा भएको अल हसन ओपन, जर्मन ओपन, नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग), अस्ट्रेलियामा भएको ओसिएना प्रेसिडेन्ट कप र अस्ट्रेलियन ओपनमा निर्णायकका रुपमा सहभागी भएका थिए ।

त्यस्तै ट्युनिसिया र अस्ट्रेलियामा भएको रिफ्रेसर कोर्षमा पनि सहभागी भए । सन् २०२० मा मेक्सिको ओपन र २०२१ मा भएको पाकिस्तान ओपनमा निर्णायकको भूमिका निभाएका अशोकले २०२० मा ग्योरोगी अनलाइन रिफ्रेसर कोर्षमा सहभागिता जनाएका थिए ।

अशोकलाई गत पुस ४ गते युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकको विधामा सम्मान गरेको थियो । अशोक पारा तेक्वान्दो र पुम्सेका पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?