जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको काठमाडौं प्रशासनले थाल्यो अनुगमन

लोकपथ
140
Shares

काठमाडौं । सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहीवार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले बानेश्वर क्षेत्रमा सञ्चालित विभिन्न प्रकारका पसलहरु, होटल, रेष्टुरेन्ट, सपिङ मल लगायत सार्वजनिक सवारी साधनमा समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा सार्वजनिक यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, मास्क सेनिटाइजर नराखिएको पाइएकाले बढी यात्रु नराख्न, मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्न र सवारी साधनलाई निसंक्रमित पार्नका लागि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । सडकमा मास्क नलगाइ हिडिरहेका र मास्क नलगाई पसलमा बसिरहेका ८ जनालाई प्रतिव्यक्ति एक सय रुपैँया जरिवाना गरिएको पनि उनले जानकारी दिए । अनुगमनका क्रममा मानिसहरु पहिलेको तुलनामा कमै मात्र बाहिर निस्किएको पाइएको उनले बताए । उनले भने – ‘नियमित रुपमा बजार अनुगमन गर्ने, यातायातका साधनहरु अनुगमन गर्ने, सपिङ मलहरु, होटलहरु, रेष्टुरेन्टहरु आदिको अनुगमन गर्दै जाने र सचेतना फैलाउने क्रममा आज यो बानेश्वर एरियामा आइपुगेका छौँ । सरसर्ति हेर्दा के देखियो भने बानेश्वर चोकमा केही बसहरुमा अनुगमन गर्दाखेरी सिट क्षमताभन्दा बढी व्यक्तिहरु राखेर हिडाएको पाइयो । सेनिटाइजर राखिएको देखिएन । मास्क पनि राखेको देखिएन । हामीले चालक र सहचालकहरुलाई आफ्नो प्यासेन्जरहरुलाई सिटभन्दा बढी प्यासेन्जर नराख्ने, मास्क अनिवार्य प्रयोग गर्न लगाउने, सेनिटाइजर राखेर गाडीलाई निसंक्रमित गर्ने भन्ने एउटा निर्देशन पनि दियौँ । त्यसैगरी सडकमा हिडिरहेका व्यक्ति र पसलमा बसिरहेका व्यक्ति ८ जनालाई हामीले एउटा सांकेतिक रुपमा मास्क नलगाएकाहरुलाई प्रतिव्यक्ति एक सय रुपैयाँका दरले जरिवाना पनि ग¥यौँ । बानेश्वर एरियामा सरसर्ति हेर्दाखेरी त्यतिसाह्रै मान्छेहरु निस्किएको देखिएन । पहिलेको तुलनामा कम मात्रामा निस्किएको देखियो । अनुगमनलाई हामीले हिजोबाट सुरु गरेका छौँ ।’

जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई निरन्तरता दिने जनाएको छ । कोभिड – १९ को तेस्रो लहरलाई कम गराउन र जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रशासन लागि परेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?