नेपालले विश्वकप खेल्दा क्रिकेट सुरु गरेका लोकेशको राष्ट्रिय टोलीसम्मको यात्रा

लोकपथ
403
Shares

काठमाडौं । विभागीय एपीएफ क्लबबाट टी-२० प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै गर्दा लोकश बमले सोचेका पनि थिएनन्, राष्ट्रिय टोलीको यात्रा । अर्को विभागीय टोली आर्मीबाट करारमा एपीएफ आएपछिको पहिलो खेलमा प्रदर्शन राम्रो पनि भएन । उमेरले अपरिपक्व देखिएका लोकशले मैदानमा भने आफूलाई धैय गर्दै परिपक्व भएको प्रमाणित गरिदिए ।

अनुभवी खेलाडीसरह लोकशले आफूलाई प्रस्तुत गरे । आक्रामक ब्याटर लोकेशले हिजो (बुधबार) सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाए । टोलीको सफलता र आफ्नो उत्कृष्ट प्रदर्शनसँगै राष्ट्रिय टोलीको ढोकासमेत खेले ।

यसअघि ३० सदस्यीय प्रारम्भिक प्रशिक्षणमा स्थान बनाउन नसकेका लोकेश बम प्रधानमन्त्री कप सकिएको भोलिपल्टै टोलीको अन्तिम १६ सदस्यीय टोलीमा स्थान बनाउन सफल भए । श्रीलंकन नागरिकसमेत रहेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले आफ्नो रणनीतिमा लोकेशलाई योग्य देखे ।

यससँगै लोकेशले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाए । धनगढीका १९ वर्षीय ब्याटर लोकेशलाई प्रधानमन्त्री कपको सेमिफाइनलमा पूर्वक्लब आर्मीविरुद्ध आक्रामक ब्याटिङ गर्दै १८ बलमा ५० रन बनाउँदासम्म राष्ट्रिय टोलीको ढोका खोलिन्छ कि भन्ने लागेको थिएन । तर सोही खेलका कारण उनलाई राष्ट्रिय टोली नै नभए पनि क्याम्पसम्म कतै ‘कल’ हुन्छु कि भन्ने चहि पक्कै लागेको थियो ।

‘सेमिफाइनलभन्दा अगाडि टिममा पर्छु होला भन्ने लागेको थिएन । सेमिफाइनलमा जुन रन हाने, त्यसपछि मनमा थियो । राष्ट्रिय टोलीमा नभए पनि क्याम्पसम्म आउँछु कि भन्ने थियो,’ राष्ट्रिय टोलीमा स्थान बनाएपछि खुसी साट्दै लोकेश भन्छन् ।

लोकेश सेमिफाइनलमा चौथो नम्बर ब्याटरको रूपमा आएर १८ बलमा अविजित ६६ रन बनाए । आक्रामक ब्याटिङ गरेका लोकेशले दुई चौका र नौ छक्का हिर्काए । यसअघि समूह चरणको खेलमा बागमतीविरुद्ध २४ बलमा ५० रन बनाए । जहाँ उनले १० चौका र एक छक्का प्रहार गरे ।

यो दुई अर्धशतकीय इनिङले नै लोकेशको भाग्य चम्कियो । प्रतियोगतामा लोकेश सर्वाधिक रन हान्ने खेलाडीमा छैटौं स्थानमा रहे । ६ खेल खेलेका उनले दुई खेलमा अविजित रहँदा १५२ रन बनाए । ६ खेलमा औसत ३८ रन बनाएका उनको सर्वाधिक रन ६६ हो । जहाँ दुई अर्धशतक प्रहार गर्दा १३ चौका र १३ छक्का प्रहार गरे । जसकारण उनी पहिलोपटक राष्ट्रिय टोलीमा परे ।

यता, लोकेशको प्रदर्शनबाट एपीएफसमेत दंग थियो । कप्तान शरद भेषवाकरसमेत लोकेशलाई ल्याउन सहमित दिए । एक प्रकारले शरद र एपीएफ सिंगो टिम लोकेशको सफलतामा खुसी छ । ‘लोकेश राम्रो खेलाडी हो । एपीएफलाई विश्वास गरेर आयो । हामीे ‘लक्की’ भयौं । यस्तो खेलाडीबाट च्याम्पियन भयौ । यसलाई क्लबमा ल्याउन कप्तान शरदको पनि हात रह्यो र क्लबका ल्यायौं । राष्ट्रिय टोलीबाट उसको राम्रो होस् भन्ने कामना छ,’ एपीएफ क्लबका व्यवस्थापक अमित मल्ल भन्छन् ।

लोकेश पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा स्वाभाविक रूपमै खुसी भएको र दबाब भए पनि आगामी दिनमा कसरी खेल्ने त्यसतर्फ ध्यान दिने बताउँछन् । ‘राष्ट्रिय टोलीमा पर्छु भन्ने थिएन । बिहान नाम हेरेर थाहा पाएँ । राम्रो गरेको थिएँ । टोलीमा राख्छन् कि भन्ने थियो । राखेछन्,’ लोकेश भन्छन्, ‘टिममा परेपछि खुसी हुनु त स्वाभाविक हो । अलिकति दबाब पनि छ । टिममा पर्दा उत्साहित पनि छु । कसरी राम्रो गर्ने भनेर सोचिरहेको छु ।’

धनगढीका लोकेशले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा विश्वकप खेल्दा नेपाली टोलीको खेल हेरेका थिए । तत्कालीन समयका प्रशिक्षक यिनै पुवुदु हुन्, जसले लोकेशलाई पहिलोपटक आफ्नो नजर लगाएका छन् ।

नेपालले टी-२० विश्वकप खेलेको त्यही पहिलो अवसर थियो । जुन खेल हेरेरै लोकेशले आफ्नो खेल करियर अगाडि बढाएका थिए । लोकेशको पहिलो गुरु हुन् दीपेन्द्र चौधरी । जसले लोकसलाई पहिलोपटक ब्याट समात्न सिकाए । चौधरीकै सिकाइले लोकेश आक्रामक ब्याटर भएर राष्ट्रिय टोलीमा पुगेका छन् ।

‘मैले क्रिकेट सुरु गरेको नै नेपाल विश्वकपमा छनोट भएपछि, खेल हेरेर हो । त्यसपछि धनगढीमा दीपेन्द्र चौधरी सर आउनु भयो । उहाँले मलाई क्षमता देखेर बोलाए । उहाँबाट सिको गर्दै यू(१९ टोली पनि खेले । र, अहिले राष्ट्रिय टोलीमा परे । अहिले पनि मैले सरसँग (दीपेन्द्र) हेल्प मागिरहेका हुन्छु,’ आफ्नो बाल्याकालको गुरुलाई सम्झँदै लोकेश भन्छन् ।

लोकेशले अहिले नेपालको उमेर समूह यू-१९ टोलीबाट समेत खेलिसकेका छन् । यसअघिको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता आर्मीबाट खेले । पोखरा प्रिमियर लिग (पीपीएल) विराटनगर टाइटन्सबाट खेले । तर कुनै पनि प्रतियोगितामा आफूलाई प्रमाणित गर्न सकेनन् । प्रयास जारी राखे । मिहिनेत गरिरहे । हार खाएनन् । गुमाउनु केही थिएन । पाउनु धेरै थियो । यही प्रधानमन्त्री कपमा आफूलाई सिद्ध गरे ।

‘मैले आफूलाई क्षमतावान देखाउनु थियो । जसरी हुन्छ रन हान्नुपर्ने थियो । भयो पनि त्यही आर्मीभन्दा अघि पिपिएल (विराटनगर टाइटन्स)बाट खेले । आर्मीबाट पीएम कप खेले । त्यहाँ कहिले पनि राम्रो हुन सकेन । एपीएफ आएपछि सफलता हासिल गरे,’ लोकेश आफ्नो सफलता सुनाउँछन् ।

यससँगै अब लोकेशका ध्यान ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटमा हुनेछ । १७ देखि २४ फेब्रुअरीसम्म आयोजना हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा आयोजक ओमान सहित फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्याण्ड र जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । जहाँ लोकेशले आफूलाई प्रमाणित गर्नुपर्छ र राष्ट्रिय टोलीमा निरन्तरता पाउनेछन् । जुन लोकेशले समेत बुझेका छन् । त्यसअघि लोकेश प्रशिक्षक पुबुदुको सेटमा पर्नुपर्नेछ । ‘टिमको सेटमा स्थान पाउने वा नपाउने त्यो मेरो हातमा छैन । कोचको हातमा हुन्छ । उहाँले हेरेर निर्णय लिनुहुन्छ । अवसर पाए आफुलाई प्रमाणित गर्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?