काठमाडौं । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुदेवी यादवले आपत्तिजनक अभिव्यक्ति दिएकी छिन् ।
बुधबार मधेश प्रदेशको रौतहट जिल्लामा ‘बलिदानी दिवस’ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई गौर हत्या काण्ड दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)की नेतृ समेत रहेकी मन्त्री यादवले सम्बोधन गर्दै सिके राउतलाई गौर हत्याकाण्ड दोहोरिने भन्दै चेतावनी दिएकी हुन् ।
हिन्दी भाषामा सम्बोधन गर्दै मन्त्री यादवले गौर हत्या काण्ड भएको राइस मिल अझै रहेकाले गौर हत्या काण्ड हुनसक्ने चेतावनी दिएकी हुन् ।
उनले भनेकी छिन्, ‘गौर नरसंहारको इतिहास राइस मिल जीवित छ । गौरमा फँणा देखाउने प्रयास गानगर । लाठी भाँच्न गौरका मानिसले जानेका छन्, तुफानसँग टक्कर गर्ने प्रयास नगर । तुफानसँग टक्कर लिने प्रयास गरेमा त्यही हुन्छ, जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहासलाई राउतले नभूलून् । नत्र तपाईँको कार्यकर्ता मारिन्छन् र तपाईँलाई पनि घेराबन्दी गरेर मारिदिन्छन् । होस गर्नुस्, हत्या हुनसक्छ ।’
२०६३ साल चैत ७ गते गौरमा रहेको राइस मिलमा तत्कालिन माओवादी समर्थित मधेशी राष्ट्रिय मुक्ति मोर्चा र मधेशी जनाधिकार फोरका कार्यकर्ताबीच झडप भएको थियो । सो क्रममा २७ जनाको नरसंहार भएको थियो । हाल उक्त घटनालाई गौर हत्या काण्डको नामले परिचित रहेको छ ।
उक्त कार्यक्रमस्थलमा जाँदा उनलाई सीके राउतका कार्यकर्ताहरुले बाटो छेकेका थिए । सुरक्षाकर्मीहरुको घेराकाबीच कार्यक्रमस्थल पुगेकी मन्त्री यादवले सो अभिव्यक्ति दिएकी हुन् । मन्त्री यादवको उक्त अभिव्यक्तिप्रति अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
https://www.facebook.com/drckraut/videos/982332769301598
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया