कोरोना संक्रमण बढ्न थालेपछि हाटबजार बन्द गर्ने निर्णय

लोकपथ
221
Shares

खोटाङ । कोभिड-१९ को संक्रमण पुन: बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकले कोभिड-१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भन्दै जिल्लाका १० वटा स्थानीय तहका विभिन्न स्थानमा साप्ताहिक तथा पाक्षिक रूपमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दोस्राे लहरपछि लाग्न थालेका हाटबजारमा भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले पुन: अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द गराउने निर्णय गरेको जनाएको छ । जिल्लाको दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुईपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानीलगायतका ठाउँमा साप्ताहिक रूपमा हाटबजार लाग्ने गरेको छ । हाटबजार बन्द हुँदा कृषि उपजलगायतका स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय मारमा पर्ने गरेका छन् ।

कोरोनाको संक्रमण वृद्धि भइरहँदा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्नमा भने बेवास्ता भइरहेको पाइएको छ । कोरोनाको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने बेला अधिकांश क्षेत्रमा हेलचेक्र्याइँ बढ्दो रहेको देखिएको छ । न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न भनिए पनि सोको पालना हुन सकेको देखिन्न । मास्कको प्रयोगमै बेपरवाह भइरहेको छ । संक्रमणविरुद्धको प्रतिकार्य तथा पूर्वतयारी योजना बनाउनमा स्थानीय सरकार तातेको देखिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?