खोटाङको साकेला गाउँपालिकाले वडा–वडामा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ताको दोस्रो त्रैमासिक किस्ता वितरण गरेको छ । शारीरिक अशक्तताका कारण बैंकसम्म पुग्न कठिनाइ बेहोरिरहेका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीको सुविधाका लागि गाउँपालिकाले ५ वडाको ६ स्थानमा भुक्तानी शिविर सञ्चालन गरेर सबै खालका सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।
गत २८ पुसदेखि ५ माघसम्म सञ्चालन गरिएको भुक्तानी शिविरबाट ४६२ जना लाभग्राहीले वडाबाटै सामाजिक सुरक्षाभत्ता पाएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिए ।
गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/७९ मा दोस्रो त्रैमासिक किस्ता पाउने लाभग्राहीको संख्या १ हजार २११ रहेको छ । उनीहरूका लागि १ करोड १३ लाख ५६ हजार ९०७ रुपैयाँ रकम निकासा भएको थियो । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दैआएको छ । चालु आर्थिक वर्ष गत असोजमा बैंकमार्फत प्रथम त्रैमासिक किस्ता वितरण गरेको गाउँपालिकाले दोस्रो त्रैमासिक किस्ता भने वडामा पुगेर वितरण गरेको हो ।
एसबिआई बैंक साकेला शाखाका शाखा प्रबन्धक असीम इङ्नामकै सहभागितामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक किस्ता वितरण गरिएको हो । सामाजिक सुरक्षा भत्ताका लागि हिँडेर बैंकसम्म पुग्न नसक्ने, बैंकमा पुगेर घण्टौंसम्म लाइनमा उभिनुपर्ने, आउजाउ गर्दा समय लाग्ने झन्झटबाट सामाजिक सुरक्षाभत्ताका लाभग्राही लाभान्वित भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया