इजरायलमा सरकारले पठायो ९९ जना श्रमिक, अरु कहिले जान्छन् ?

लोकपथ
156
Shares

इजरायलमा सरकारले श्रमिक पठाउन सुरु गरेको छ । जसअनुसार दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएकाहरुमध्ये पहिलो चरणमा ९९ जना बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक उनीहरु इजरायल प्रस्थान गरेका हुन् ।
श्रम मन्त्रालयका अनुसार ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् ।

यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।
इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
इजरायल प्रस्थान गर्नुअघि श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रममन्त्री किसन श्रेष्ठले बुधबार बिदाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?