चार महिनादेखि बेपत्ता बनेकी एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित भएको छ ।
प्रदेश १ प्रहरी कार्यालयको उक्त टोली मङ्गलबारदेखि परिचालित भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुई विज्ञ र दुई प्रहरीसहित चार जनाको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेको बताइएको छ । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी असोज ८ गते अपराह्न ४ः२५ देखि बेपत्ता बनेपछि खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए ।
लघुवित्तको मासिक बैठक सञ्चालनका माप्य दूधकोसी–७ को सोलावनबाट हाकुला झर्ने क्रममा बेपत्ता बनेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको उनको भनाइ छ । सम्पर्कविहीन बनेको खबर पाउनासाथ प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको भए पनि अहिलेसम्म उनको अवस्था अज्ञात भएकाले विज्ञ टोली परिचालित गर्नुपरेको प्रहरी नायब उपरीक्षक कटवालको भनाइ छ । अब उक्त टोलीको रिपोर्टपछि सिआइबीको टोली परिचालित गरिने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार असोज ८ गते अपराह्न ४ः२२ मा साथीलाई सन्देश पठाएको र ४ः२५ देखि मोबाइल अफ भएको छ । मासिक बैठक सञ्चालनका लागि माप्यदूधकोसी–६ र ७ वाकुमा दुई जना कर्मचारीसँगै गएको भए पनि सोलावनबाट हाकुला झर्नेेक्रममा एक अर्का छुट्टिएपछिको अवस्था थाहा नभएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन भएको थाहा हुनेबित्तिकै स्थानीयवासी, वाकु प्रहरी चौकी, इलाका प्रहरी कार्यालय सोताङकाट प्रहरी निरीक्षक नवन राईको टोली परिचलान भए पनि पत्ता लगाउन नसकेपछि असोज ११ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालको टोलीसमेत घटनास्थल पुगेको थियो । अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको थियो भने एक हप्तापछि प्रहरी निरीक्षक नवीन राईको टोलीसमेत फर्केको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया