समयमा नै स्थानीय तहको निर्वाचन गराउन नेता पोखरेलको माग

लोकपथ
112
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गरे । नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागिपरेको आरोप समेत लगाए । उनले निर्वाचन आयोगले भोलि (बिहीवार) सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी दिए ।

नेता पोखरेलले भने, ‘म भन्न चाहन्छु नेकपा एमाले सर्वोच्च अदालतबाट जबरजस्ती गलत्याइएको दल हो । त्यो दल नेकपा एमाले चुनावको पक्षमा छ । चुनाव गराउन चाहन्छ । सरकारलाई कम्तिमा निर्वाचन आयोगले दिएको तिथि वैशाख १४ र २२/२३ गतेभित्र चुनाव गराउनको लागि म आह्वान गर्न चाहन्छु । स्थानीय लोकतन्त्र, जुन संविधान बनाइसकेपछि पहिलो पटक स्थानीय तहको निर्वाचन ग¥यौं त्यसमा हाम्रो कुठराघात हुनेछ र संघीयतालाई कार्यान्वयन गर्नको लागि पनि चुनौति रहनेछ । त्यसकारण स्थानीय सत्तालाई कमजोर बनाउने, र हिजोको विगत स्थानीय सत्ता बिहीन बनाउने जुन प्रकृति थियो । त्यो अभ्यास गरेका थियौँ । त्यो लोकतन्त्र र जनताको जीविकालाई प्रश्न चिन्ह खडा गरेको छ, त्यो परिपाटीको अन्त्यको लागि पनि चुनाव अपरिहार्य छ । चुनाव तत्काल गर्न म आग्रह गर्न चाहन्छु । चुनाव हार्ने, जित्ने भनेर आँकलन गर्ने होइन । चुनाव लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । त्यसलाई कार्यान्वयन गर्नको लागि र लोकतन्त्रलाई राखिराख्नको लागि र नेपालको लोकतन्त्र कसैले हल्लाउन सक्दैन, स्थानीय जनतन्त्रलाई कसैले हल्लाउन सक्दैन, स्थानीइ सुशासनलाई कसैले कमजोर बनाउन सक्दैन भन्ने मान्यता स्थापित गर्नको लागि आउँदो दिनहरुमा निर्वाचन हुँदैन कि भन्ने प्रश्न कहिल्यै पनि नउठ्ने गरी यो सरकारले जवाफ दिएर समयमा निर्वाचन गर्नुपर्छ । यो निर्वाचन नगर्ने कुरा के हो भने कहिले काहीँ नेपाली काँग्रेसका नेता र गठबन्धनका नेताहरु भन्ने गर्नुहुन्छ, नेकपा एमाले बलियो छ । अहिले चुनाव गरेमा हामी हार्छौं । हामी अहिले पनि जनताको लोकप्रिय पार्टी हो । हामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्नेछौँ । म घोषणा गर्न चाहन्छु, कम्तिमा ७५ प्रतिशत सिट नेकपा एमालेले स्थानीय तहमा जित्नेछ । यसबाट अत्तालिएर अहिलेको गठबन्धन सरकार निर्वाचन नगराउने षड्यन्त्र गरिएको छ, यो षड्यन्त्रलाई चिर्नको लागि हामी भोलिसम्म पर्खन्छौँ । निर्वाचनको तिथि भोलिसम्म घोषणा भएन भने सडकबाट जनता उरालेर परिचालन गरेर निर्वाचनको माग गर्न हामी सडकमा जान्छौँ । त्यसकारण स्थानीय तहको निर्वाचन नगराउने कुरा दिमागमा नसोचियोस् । पराजित मानसिकताले हाम्रो संविधान र कानून, निर्वाचन प्रणाली कमजोर बनाउने प्रयत्न नगरियोस् ।’

यता, सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थानीय तहको निर्वाचन समयमै गराउन सरकार प्रतिवद्ध रहेको बताए । उनले नेपाली काँग्रेसको नेतृत्वको सरकार चुनाव गराउनकै लागि बनेको दावी समेत गरे ।

नेता विश्वकर्माले भने, ‘नेपाली काँग्रेस पार्टीका बारेमा निर्वाचन सम्बन्धमा मलाई लाग्छ, कहिल्यै शंका नगरे हुन्छ । त्यो शंका, आग्रह, पूर्वाग्रहलाई वा रणनीतिलाई नेपाली काँग्रेस र चुनावसँग जोड्नु, सान्दर्भिक इतिहासले पनि देखाउँदैन । जस्तोसुकै कठीन परिस्थितिमा पनि नेपाली काँग्रेसले निर्वाचन सम्पन्न गरेको छ । अरु दलहरुको सरकार हुँदै गर्दा निर्वाचन शंकास्पद भइसकेपछि हुने नहुने भनेर शंका व्याप्त हुँदा नेपाली काँग्रेसकै प्रधानमन्त्री बनाएर, नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बनाएर निर्वाचन गर्दै आएको पनि विगतको इतिहासले हामीलाई देखाएको छ । यो सरकार निर्वाचन गर्नकै लागि बनेको सरकार हो । नत्र शेरबहादुर देउवालाई सरकारमा जानुपर्ने कुनै आवश्यक थिएन । र त्यो बेला २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा शेरबहादुर देउवाले भन्नुभयो, काँग्रेस चुनावबाट भाग्दैन । तर यो संसद विघटन असंवैधानिक भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुट्दै । ठूलो शक्ति हो भनेर दम्भ बोकेर हिँडेको बेला । तर त्यो पार्टी फुट्यो, एकपटक मात्रै फुटेन, दुईपटक फुट्यो । एउटा अदालतले फुटाइदियो । एउटा आफैँ फुटाउनु भयो । पार्टी फुटिसकेपछि अहिले नेकपा एमाले पार्टी सरकारमा छैन, त्यसका केही अंशहरु मात्रै सरकारमा छन्, त्यसको नेतृत्व नेपाली काँग्रेसले लिएको हुनाले विश्वास गर्नका लागि म आग्रह गर्दछु ।’

नेता विश्वकर्माले नेपाली काँग्रेस निर्वाचनबाट भाग्ने पार्टी नभएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?