जाडोमा मुटुको समस्या बढ्छ, यसरी जोगिऔँ

लोकपथ
624
Shares

खानेकुरा मिठो लाग्ने, खाएको खानेकुरा राम्ररी पच्ने, घाम ताप्न पाइने, तात्तातो चिया, कफी र सुप खान पाउने भएर धेरैलाई जाडो मौसम मन पर्ने गर्छ । खान र लगाउनका लागि जाडो मौसम राम्रो भए पनि स्वास्थ्यको दृष्टिकोणले जाडो मौसम अरू मौसमको तुलनामा त्यति राम्रो मानिँदैन ।

जाडो मौसम बिशेषत मुटुका बिमारीहरूका लागि राम्रो मानिँदैन । एक अध्ययन अनुसार जाडो मौसममा हर्ट अटेक, हर्ट फेलियर र अर्थिमिया (मुटुको चालमा हुने समस्या) हुने सम्भावना बढी हुन्छ । जाडो मौसममा हाम्रो शरीर र मुटुलाई शरीरको तापक्रम बढाउन बढी मेहनत गर्नु पर्ने हुन्छ । जसको कारण मुटुमा बढी दबाब परिरहेको हुन्छ । यस्तो अवस्थामा मुटु कमजोर भएको खण्डमा हर्ट फेलियर हुने सम्भावना बढी हुन्छ ।

मुटुका बिमारीहरूलाई जाडो मौसम किन बढी खतरनाक हुन्छ भन्ने विषयमा स्वास्थ्य विशेषज्ञहरूले धेरै पक्षहरूको अनुसन्धान गरेका छन् । उनीहरूका अनुसार जाडो मौसममा तापमान धेरै कम हुन्छ यस्तो अवस्थामा कुनै पनि व्यक्तिलाई मनोवैज्ञानिक रूपमा शरीरलाई तातो बनाउने सङ्केत प्राप्त हुन्छ । चिसो मौसममा शरीरले उचित तापक्रम नपाउँदा रक्त नलीहरूमा सङ्कुचन भएर र रगतको प्रवाह मुटुमा राम्ररी हुन पाउँदैन । यस्तो अवस्थामा मुटु र शरीरमा अक्सिजनको मात्रामा निकै कमी हुन्छ । जसको कारण हृदयाघात हुने सम्भावना बढी हुन्छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार जाडो मौसममा मुटुको समस्या बढ्नुको कारणमा वायु प्रदूषण, शारीरिक अभ्यासको कमी पनि हो । यो बाहेक मानसिक दबाब, खानपिनमा रहेको नराम्रो लत र चिसो मौसममा देखिने विभिन्न किसिमका भाइरल इन्फेक्सन पनि हुन् । मुटुको समस्या पहिला देखि भएका व्यक्तिहरूलाई जाडो मौसम अझ बढी खतरनाक हुनसक्छ । जाडो मौसममा उनीहरूलाई श्वास प्रश्वास गर्न पनि अप्ठेरो भइरहेको हुन्छ भने उनीहरूलाई विभिन्न किसिमका फ्लु र निमोनिया हुने सम्भावना पनि बढी हुन्छ ।

यो समस्याको समाधान नहुने भन्ने पनि होइन । स्वास्थ्य विशेषज्ञहरूका अनुसार जाडो मौसममा न्यानो हुने लुगा लगाउने, टाउको छोप्ने टोपीको प्रयोग गर्ने, ध्रुमपान र मदिरा सेवन नगर्ने, योग र शारीरिक ब्यायम गर्ने, शरीरलाई चलायमान बनाइराख्ने गर्नुपर्छ । यो बाहेक राम्ररी निदाउनु पनि यो समस्याबाट बच्ने अर्को उपायको रूपमा रहेको छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार जाडो मौसममा खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । यो मौसममा धेरै नुनिलो र गुलियो खानेकुरा खानु हुदैंन । यस्तो बेलामा शरीरलाई सन्तुलित बनाउन हरियो सलादको नियमित सेवन गर्ने र स्वास्थ्य परीक्षण गर्ने गर्नु नै जाडो मौसममा मुटु रोगको समस्या हुन नदिने केही उपायहरू हुन् । यो गर्दा गर्दै पनि तपाईँलाई कुनै किसिमको असजिलो महसुस भएमा चिकित्सकको परामर्शमा जानु सबैभन्दा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?