कोरोना संक्रमित बढेको बढ्यै : परीक्षा सञ्चालनबारे के भन्छ त्रिवि ?

लोकपथ
767
Shares

काठमाडौं । नेपालमा करिब २ वर्ष यता कोरोना संक्रमणको कारण शिक्षा क्षेत्रमा ठूलो असर परेको छ ।

जसको कारण शैक्षिक क्यालेन्डरमा समेत असर पुगेको छ । पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।

कोरोना संक्रमणको जोखिमकै बीच त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका परीक्षातालिकाहरु सार्वजनिक गरेको छ ।

त्रिविले शैक्षिक क्यालेन्डर मिलाउनका लागि भन्दै स्नातक प्रथम वर्ष र ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा मिति एकैपटक सार्वजनिक गर्नाले विद्यार्थीहरु अन्यौलमा परेका छन् ।

तर, कोरोना संक्रमणको जोखिम रहेपनि जनस्वास्थ्यका मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले लोकपथसँग बताउँछन् ।

नयाँ भर्नाका लागि मिति समेत तोकिने तर परीक्षाहरु नहुने भएमा शैक्षिक क्यालेन्डरमा समेत फेरबदल गर्नुपर्ने समस्या आउने भन्दै जनश्वास्थ्यका मापदण्ड पालना गर्दै परीक्षाहरु छिटो सक्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘कोरोना जोखिमका कारण विद्यार्थीहरुमा मनोवैज्ञानिक असर परेको त छ‘, उनले भने, ‘तर जनस्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षाहरु सञ्चालन गरिएन भने त्यसले भोलिको दिनमा शैक्षिक क्यालेन्डरमा समेत फेरबदलको समस्या रहन्छ ।’

तर कोरोना संक्रमितको संख्यामा वृद्धि भएमा भने परीक्षा रोकिने समेत उनको भनाइ रहेको छ ।

‘यदि कोरोना संक्रमणको जोखिम उच्चदरमा वृद्धि भएमा सबै परीक्षाहरु रोकिनेछन्’, उनले भने ।

नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १० हजार २ सय ५६ कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?