हत्या भएको ६ महिनापछि शवको कङ्काल फेला

लोकपथ
468
Shares

रोल्पा । बेपत्ता भएको ६ महिनापछि स्थानीय ठाकुर नेपालीको शवको कङ्काल फेला परेको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका–६ रिजाका ४५ वर्षीय ठाकुर नेपाली गत २३ असारदेखि बेपत्ता भएका थिए । छिमेकीको घरमा रक्सी लिन गएका ठाकुर बेपत्ता भएपछि छिमेकी लोकेन्द्र खड्काले यसअघि नै हत्या गरेको स्वीकोरे पनि शव अझैसम्म पनि भेटिएको थिएन ।

२ माघ आइतबार बिहान ७ बजे रोल्पा त्रिवेणी–६ निम्टेखोलास्थित लौटेभीरदेखि तलको पाखोमा रुखमुनि मानवको जस्तो कंगाल (हड्डी) फेला परेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी चौकी जुगारबाट प्रहरी चौकी इन्चार्ज सई नन्दकुमार पोख्रेल नेतृत्वको टोली घटना स्थलमा पुगेको थियो ।

लगत्तै इलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट प्रहरी निरीक्षक जिवराज थापा क्षेत्रीसहितको अनुसन्धान टोली खटिएको घटनास्थलमा मानवको जस्तो देखिने हड्डीहरु रहेको र हड्डी (कङ्काल) नजिकै हाफपाइन्ट, कट्टु, टि–सर्ट, लाभा कम्पनीको मोबाइल सेट र टर्चलाइट फेला परेको थियो ।

टर्चलाइट, मोबाइल सेट, कपडासहित आफ्नो श्रीमान् हो भनी ठाकुर नेपालीकी श्रीमती हिमा नेपालीले सनाखत गरेकी छन् ।

फेला परेको कङ्कालको परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाउने कार्य भइरहेको र थप अनुसन्धान पनि भइरहेको प्रहरी नायव निरीक्षक पोखरेलले बताए ।

ठाकुर गत २३ असारसाँझ ६ बजेतिर आफ्नै छिमेकी लोकेन्द्र खड्काको घरमा गएका थिए । सोही समयदेखि उनी बेपत्ता थिए । श्रीमान बेपत्ता भएपछि उनकी श्रीमती हिमाले प्रहरी चौकी जुगारमा खोजतलास गरी दिन माग गर्दै २८ असारमा निवेदन दिएकी थिइन् ।

हिमाको जाहेरीअनुसार र अनुसन्धानको क्रममा ठाकुर नेपालीलाई रोल्पा त्रिवेणी–६ वस्ने ३५ वर्षीय लोकेन्द्र खड्का उनकी श्रीमती ४५ वर्षीया गौमाया घर्ती (खड्का)विरुद्ध व्यक्ति बेपत्तासम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।

रोल्पा जिल्ला अदालतको गत २९ असारको आदेशअनुसार लोकेन्द्र खड्का पुर्पक्षको लािग कारागार कार्यालय रोल्पामा थुनामा छन् भने उनकी श्रीमती गौमाया घर्ती ७५ हजार रुपैयाँ धरौटी राखी जमानतमा छुटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?