काठमाडौं महानगरपालिकाद्वारा बजेट संशोधन

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटबाट ४२ करोड ८४ लाख ७९ हजार रुपैयाँ बजेटको कार्यक्रम संशोधन गरेको छ ।

कामपाको १०औँ अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । कामपाको सञ्चित कोषबाट कार्यान्वयन हुने १६ अर्ब आठ करोड ७० लाख १२ हजार रुपैयाँ र बाह्य कोषबाट कार्यान्वयन हुने दुई अर्ब ८७ करोड सात लाख रुपैयाँ गरी कामपाले चालु आर्थिक वर्षमा कूल बजेट १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

संशोधनबाट ज्येष्ठ नागरिक निःशुल्क खोप कार्यक्रमका लागि एक करोड ५० लाख रुपैयाँ थप गरिएको छ ।

यसैगरी, फोहोरमैला प्रभावित क्षेत्रका स्थानीयवासीसँग समय समयमा भएका सहमति कार्यान्वयन गर्ने क्रममा यसअघि छुट भएको शिक्षक दरबन्दी अनुदानसहित प्रभावित क्षेत्रबाट माग भएर आएका योजनालाई संशोधनमा समेटिएको छ ।

‘जुन शीर्षकमा काम गर्ने लक्ष्य राखिएको थियो, विभिन्न कारणले त्यो कार्यक्रम कार्यान्वयनमा आउन नसक्ने भएपछि सम्बन्धित विभाग र वडाको मागबमोजिम शीर्षक परिवर्तन गरिएको हो’, कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

अधिवेशनले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिइएको १० प्रतिशत छुटको सुविधालाई चैत मसान्तसम्म दिने निर्णय गरेको पनि जनाइएको छ । आर्थिक ऐन २०७८ को दफा २ अनुसार लाग्ने करमा दिइएको छुटको अवधि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?