प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को सङ्क्रमणबाट जोगिन कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्यका मापदण्ड पालनाका साथै सचेतना पनि आवश्यक रहेको बताएका छन् ।
उनले कोभिड–१९ को नयाँ भेरियन्टले हाल जनस्वास्थ्यमा समस्या उत्पन्न गरेको उल्लेख गर्दै यसबाट बच्न कोभिड–१९ विरुद्धको खोप लगाउन, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा हात धुनेलगायतका सचेतनाको आवश्यकता औँल्याए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आज आयोजित नवौँ बैठकमा प्रधानमन्त्री देउवाले कोभिड–१९को सङ्क्रमण रोकथामबारे जनतामा सचेतना जगाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको बताउँदै यसमा सहयोग गर्न आग्रह गरे । उनले कोभिड–१९ बाट जोगिने सचेतनाबारे देशभरि अभियान चलाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै यसमा सहयोग गर्न सबै सङ्घसस्था तथा राजनीतिक दलहरुलाई आग्रह गरे ।
कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट मृत्युदर कम भए पनि यो द्रूत गतिमा फैलिएकोप्रति सजग गराउँदै उनले भने, “खुला सिमानाबाट मानिसको आवतजावतले डरलाग्दो अवस्था आउन सक्छ, जनताको ज्यान जोगाउनु सरकारको पहिलो कर्तव्य हो, यसमा सबै लागौँ ।”
सिमानामा कोभिड–१९ को पर्याप्त मात्रामा परीक्षण गर्न र आवश्यक मात्रामा होल्डिङ सेन्टर तत्काल स्थापना गर्नुपर्ने बताउँदै उनले जनताको जीवन रक्षाका लागि आवश्यक मात्रामा कोभिड–१९ विरुद्धको बुष्टर डोज तत्काल खरिद गरी सहजताका साथ मुलुकभर वितरण गर्न निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले केही महिनाअघि आएको बेमौसामी वर्षाले मुलुकभर भएको जनधनको क्षतिको आवश्यक राहत र क्षतिपूर्तिको काम हुन नसकेको बताउँदै त्यसमा ध्यान दिनसमेत सम्बन्धित निकायलाई निर्देशन दिए ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्याक्ष सुवास नेम्वाङले कोभिड–१९को रोकथाम र नियन्त्रणमा सरकारले थप सक्रिय भएर काम गर्नुपर्ने बताउँदै यसमा आफ्नो दलले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कोभिड–१९ विरुद्धको खोपको उचित व्यवस्थान गरी चाँडो भन्दा चाँडो सबै जनतालाई सहजरूपमा आवश्यक मात्रामा खोप लगाउन आग्रह गर्दै सिमानामा परीक्षण र होल्डिङ सेन्टरको पर्याप्त सुविधाको व्यवस्थापन गर्न, स्वास्थ्यकर्मीको स्वास्थ्यमा ध्यान दिन, कोरोना बिमाको भुक्तानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया