हुम्लामा पहिलो पटक विद्युतीय भुक्तानी सेवा सुरु

लोकपथ
104
Shares

सिमकोट । सिमकोट हिल्दुम विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकलाई एमपावर बिलिङ प्रणालीबाट हुम्लामा पहिलो पटक विद्युतीय (डिजिटल) भुक्तानी दिन सुरु गरेको छ ।

केन्द्रले एक कार्यक्रमबीच सो प्रणाली कार्यान्वयनमा ल्याएको र उद्घाटनको पहिलो दिन आइतबार १५० जना सेवाग्राहीले सेवा लिएका छन् । नेपाल विद्युत प्राधिकरण हिल्दुम वितरण केन्द्रले आइतबार एक कार्यक्रम गर्दै आफ्नो सेवालाई डिजिटल रूपमा बढाएपछि उक्त सेवा लिनेको घुइचो लागेको थियो ।

उद्घाटनकै पहिलो दिन डिजिटल रूपमा सेवा दिएको विद्युत कार्यालयले एक लाख सात हजार रुपैयाँ उठाउन सफल भएको कार्यालयका प्रमुख साजन ऐडीले बताए ।

प्रमुख ऐडीले भने, ‘नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको प्रावधान अनुसार हुम्ला जिल्लामा पनि अबदेखि डिजिटल रूपमा सेवा दिन भनेपछि उक्त कार्य सञ्चालन गरिएको हो ।’

कार्यालयले यसअघि उक्त सेवा दिँदा कागजी ढड्डामा रेकर्ड राख्ने गरेको थियो भने आइतबारबाट कम्प्युटर प्रयोगले बिल भुक्तानी सुचारु भएको छ ।

प्रविधिबाट कर्मचारी तथा सेवाग्राहीलाई सहज भएको छ । सेवाग्राहीले घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । सेवाग्राही मृगुर लामाले यसअघि तीन घण्टासम्म लाइनमा बसेर विद्युत महसुल तिरेको स्मरण गर्दै नयाँ प्रणालीले पाँचै मिनेटमा महसुल भुक्तानी गरिएको बताए ।

विगतमा कागजी प्रक्रियाबाट काम गर्नुपर्दा सेवाग्राही र कर्मचारी दुबैलाई दुःख र समस्या झनझटीलो हुने गर्दथ्यो भने अबदेखि यो प्रविधि लागु भएपछि निक्कै सहज हुने भएको वितरण केन्द्र हुम्ला श्रोतले बताएको छ । यो प्रविधि लागू गर्दा नेपाल भरिकै एकीकृत बिलिङ सिस्टम हुने भएको छ ।

अबदेखि विद्युत प्राधिकरण केन्द्रीय कार्यालयले बिल महसुल छुट दिएमा हुम्लाका विद्युत महसुल तिर्ने सेवाग्राही पनि सो सुविधाबाट लाभान्वित हुने भएका छन् ।

केन्द्रले नयाँ प्रविधि प्रयोगमा ल्याएपछि हातले बिल काट्नुपर्ने झन्झट र फाइलका ढड्डा पल्टाउनुपर्ने कार्यलाई बिदा दिइएको र कार्यालयले यो कार्य पहिलो पटक सञ्चालन गरेको छ । पहिलो दिन नै यो सेवा लिनेको घुइँचो लागेको प्रमुख ऐडीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?