कोरोनाविरुद्धको खोपको समस्या छैन : स्वास्थ्यमन्त्री खतिवडा

लोकपथ
182
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिए ।

समाजवादी प्रेस संगठन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारको रहेको जानकारी दिए । मन्त्री खतिवडाले कोरोनाविरुद्ध खोपको समस्या नरहेको जनाउँदै अहिले चार करोड डोज खोप रहेको बताए ।

समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशत जनताले खोप लगाइसकेको जानकारी दिँदै उनले खोपका लागि अस्थायी डेस्क पनि राखिने बताए ।

उनले भने, ‘बढी भीडभाड हुने सहरमा नियमित खोप सञ्चालन गर्ने सरकारको तयारी छ । हालसम्म दुई करोड ८० लाख डोज खोप लगाइसकिएको छ ।’

उनले गत पुस ४ देखि १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउने कार्य सञ्चालन भइसकेको बताए । उनका अनुसार अहिलेसम्ममा दुई डोज खोप लगाउने नागरिकको प्रतिशत ६० पुगेको छ ।

सरकार ओमिक्रोनको रोकथाम, उपचार एवं नियन्त्रण गर्नका लागि तयारी गरिसकेको जनाउँदै उनले सरकार होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आइसीयू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको छ भने ।

कोरोनाको महामारीका समयमा नागरिकले गरेको बीमा लाभग्राहीले प्राप्त गर्न सरकार र कम्पनीसँग छलफल भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?