अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले लिए पुनः श्रम स्वीकृति

लोकपथ
0
Shares

वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाझन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन दिएपछि पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र  थालिएको हो ।

वैदेशिक रोजगार कार्यालयमा अहिले विचौलियालाई निषेध गरिएको छ भने पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न थालिएपछि कार्यालयमा हुने भीड हटेको छ ।

आइतवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सचिव एकनारायण अर्याल सहितको टोलीले कार्यालयमा अनलाइन प्रणालीबाट सुरु गरिएको पुनः श्रम स्वीकृति जारी गर्ने कार्यको अनुगमन गरेका छन् ।  सो क्रममा मन्त्री श्रेष्ठले श्रम स्वीकृतिलाई छिटो, छरितो र  पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न निर्देशन दिए ।

सचिव अर्यालले सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको बताउँदै सेवाप्रवाहलाई सरलिकृत गर्नुपर्ने धारणा राखे ।  यसअघि श्रम स्वीकृति नविकरणका लागि ४ चरणको व्यवस्थालाई २ चरणबाट सम्पन्न गर्ने गरिएको छ  । कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । औसतमा कार्यालयबाट प्रति दिन  १५ सय ६५ जनाको अन्तिम श्रम स्वीकृति  जारी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?