मछिन्द्रलाई चार अंकको अग्रता लिने अवसर, पुलिसलाई मौका

लोकपथ
1.2k
Shares

काठमाडौं । दाबेदार मनाङ मर्स्याङ्दी क्लब नवप्रवेशी सातदोबाटो युथसँग १–० ले स्तब्ध भएपछि जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ ।

आइतबार हुने लिगको दुईमध्ये पहिलो खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनको १ बजे हुने खेलमा मछिन्द्रको योजना हुनेछ, तीन अंक र गोलअन्तरमा सुधार ।

गत हप्ता च्यासलविरुद्धको ५–० को जितसँगै मनाङले गोल अन्तरसमेत राम्रो बनाएको छ । आज मछिन्द्र समेत यही लक्ष्यमा हुनेछ ।

अग्रंपक्तिमा बलियो देखिएको मछिन्द्रले विमल घर्तीमगर, अभिषेक रिजाल, मनिष डांगी, कप्तान सुजल श्रेष्ठ, विदेशी खेलाडी नुर्लानबाट यही आशा गरेको छ ।

पहिलो खेलमा न्युरोड टिम एनआरटीविरुद्ध ५४औं मिनेटमा फ्रिकिकमा गोल व्यहोरेको मछिन्द्र त्यसयता गोल व्यहोरेको छैन । गोलरक्षक विशाल श्रेष्ठसमेत उच्च लयमा छन् ।

यता, बीबीसीसमेत अप्रत्यासित नतिजा निकाल्ने दाउमा छ । युवा खेलाडीले भरिएको बीबीसी मछिन्द्रलाई रोक्दै अंकतालिका सुधार गर्नेतर्फ ध्यान दिनेछ । पछिल्लो खेलमा बीबीसीले नेपाल पुलिस क्लबलाई रोकेको थियो ।

जारी लिगमा ८ खेल खेलेका मछिन्द्र अपराजित छ । २० अंकसहित मछिन्द्र शीर्षस्थानमा छ । यता, बीबीसी समान खेलबाट ६ अंक जोड्दै १२औं स्थानमा छ ।

आजै दोस्रो खेलमा विभागीय नेपाल पुलिस क्लबले च्यासल युथ क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा पौने ५ बजे सुरु हुने खेलमा दुबै टोलीको लक्ष्य जितबाहेक विकल्प छैन ।

जारी लिगमा पेपरमा औसत बलिया देखिएका दुबै टोलीले आशालाग्दो प्रदर्शन दिन सकेका छैनन् । दुबै टोली रेलिगेशनको संघारमा छन् । दुबैको लक्ष्य तीन अंक लिने र रेलिगेशन जोनबाट टाढा बस्ने रहेको छ ।

युवा प्लेमेकर राम वाजीको कप्तानीमा उत्रने पुलिसलाई कुनै खेलाडीको समस्या छैन । अघिल्लो खेलमा निलम्बनमा रहेका तेज तामाङ टोलीमा पुनरागमन गर्नेछन् ।

च्यासललाई भने कोरोनाले सताउने छ । डिफेण्डर कमल श्रेष्ठ र गोलरक्षक प्रदीप भण्डारीलाई कोरोना देखिएको छ । यस्तै टोलीमा अन्य खेलाडीकोसमेत स्वास्थ ठिक नभएको क्लबले जनाएको छ ।

जारी लिगमा पुलिस ८ खेलबाट ७ अंक सहित ११ औं स्थानमा छ । च्यासल भने समान खेलबाट ५ अंकसहित १३ औं स्थानमा छ ।

१४ क्लब सहभागी लिगमा पुछारका २ टोली भने बी डिभिजन लिगमा घटुवा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?