आर्मीसँग पराजित फ्रेण्ड्सलाई थप रेलिगेसनको चिन्ता

लोकपथ
338
Shares

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–१ अन्तरले पराजित फ्रेण्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो पटक रेलिगेसन संघारमा रहेको छ ।

शनिबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा आर्मीसँग पराजित हुँदा फ्रेण्ड्सले छैटौं हार ब्यहोर्‍यो । जुन हारले फ्रेण्ड्स थप रेलिगेसनको नजिक रहेको हो ।

यता, विजयी आर्मी भने तेस्रो स्थानमा उक्लिएको छ । आज नै हुने दोस्रो खेलमा संकटा क्लब थ्रीस्टार क्लबलाई कम्तीमा २–० ले पराजित गरे तेस्रो स्थानमा उक्लने छ । यदि सो नतिजा संकटाको पक्षमा नआए आर्मीले नवौं चरणमा तेस्रो स्थानमा रहेर टुंगाउनेछ ।

खेलको १०औं मिनेटमा जगजित श्रेष्ठले आर्मीको अग्रता दिलाए । मैदानको बायाँ भागबाट जगजितले गरेको क्रस दोस्रो बारमा लाग्दै अप्रत्याशित रूपमा जाली चुमेको थियो । उनको प्रहार रोक्न फ्रेण्ड्सका भारतीय गोलरक्षक राहुल रामचन्द्र यादवले कुनै प्रयास नै गरेनन् ।

२२औं मिनेटमा आर्मीले अग्रता २–० को बनायो । जर्ज प्रिन्स कार्कीले दायाँ कर्नरबाट गरेको क्रसलाई पेनाल्टी एरियामा रहेका दीनेश हेम्जनले ‘वान टच’ मा गोल गरे ।

दोस्रो हाफको सुरुआतमै फ्रेण्ड्सले अग्रता २–१ मा झार्‍यो । विदेशी खेलाडी जमोउल एन्थोनी पाउलले गोल गरे । आर्मीका गोलरक्षक विकेश कुथुले राम्ररी क्लियर नगरेको बललाई एन्थोनीले खाली पोस्टमा गोल गरे ।

७१औं मिनेटमा आर्मीले अग्रता ३–१ को बनायो । जगजित श्रेष्ठले प्रहार गरेको कर्नरलाई बक्स भित्रबाट हेड गर्दै सुमन अर्यालले सहज जित दिलाए ।

यस अगि दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । अघिल्ला खेलहरूको तुलनामा दुवै टोलीले औसत सुधारिएको प्रदर्शन गरेका थिए । यद्यपि आर्मी स्कोर निकाल्न सफल भयो ।

जितसँगै आर्मीले महत्त्वपूर्ण तीन अंक सहित गोल अन्तरको भने सुधार गरेको छ । आर्मी ९ खेलमा १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

पराजित फ्रेण्ड्स भने ९ खेलबाट ३ अंक सहित पुछारमा रहेको छ । हारसँगै फ्रेण्ड्सलाई रेलिगेसनको थप दबाब बढेको छ । फ्रेण्ड्स पहिलो पटक शीर्ष डिभिजन लिगबाट रेलिगेसन हुने संघारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?