‘प्रथम विज्ञान, सूचना तथा प्रविधि युवा सम्मेलन शुक्रबारदेखि

काठमाडौँ – आगामी शुक्रबारदेखि काठमाडौँमा ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि युवा सम्मेलन–२०७५’ हुन लागेको छ ।

विज्ञान र प्रविधिले भइरहेको विकास र आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा सम्मेलन गर्न लागिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

उहाँले सम्मेलनले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अबको १० वर्षमा विज्ञान र प्रविधि क्षेत्रमा लगानी र त्यसबाट आउनसक्ने परिमाणका बारेमा छलफल हुने बताउनुभयो । 

सम्मेलनमा नेपाली युवाले विज्ञान र प्रविधिको क्षेत्रमा गरिरहेका आविस्कार, अनुसन्धान र सोधका बारेमा छलफल गरिनेछ ।

सम्मेलनमा प्राकृतिक विज्ञान, चिकित्सा र आयुर्वेद, इञ्जिनियरिङ र पदार्थ विज्ञान, जैविक विज्ञान, परम्परागत प्रविधि र प्रयोग, भूगर्भ, वातावरण र मौसम विज्ञान, कृषि तथा वन विज्ञानलगायत १२ विषयवस्तुमा सामूहिक छलफल गरिने सम्मेलनका संयोेजक खिम  पन्थीले जानकारी दिनुभयो ।

सम्मेलनमा देशभरिका ४०० युवा, अनुसन्धानकर्ता, वैज्ञानिक, नीति निर्माण र विज्ञानसँग सरोकार राख्नेको सहभागिता हुनेछ ।

तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा गर्नुहुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?