‘लूट’ का निर्माता माधव वाग्ले जेल चलान

काठमाडौं – नक्कली नोट काण्डमा पक्राउ परेका फिल्म निर्माता माधव वाग्ले पुर्पक्षका लागि जेल चलान भएका छन् ।

उनीसँगै सुजित तामाङ र महेन्द्र बोगटीलाई थुनामा राख्न निर्देशन दिइएको छ ।

माधव वाग्लेसहित ६ जनालाई प्रहरीले नक्कली नोट प्रकरणमा जेठ २ गते पक्राउ गरेको थियो ।

वाग्लेलाई २ करोड ६० लाख ६३ हजार नक्कली सहित पक्राउ गरेको थियो ।

झण्डै तीन हप्ता लामो अनुसन्धानपछि वाग्लेसहित अन्य आरोपीमाथि मुद्दा दर्ता भएको छ ।

प्रहरीले निर्माता वाग्लेको कार्यालयबाट नै १ हजार दरका नक्कली २ करोड ५२ लाख रुपैयाँ फेला पारेको थियो ।

वाग्लेले भने आफूले फिल्म प्रयोजनका लागि नोट छपाएको बताउँदै आएका थिए ।

फिल्मका लागि भन्दै छापिएका नोटमा केहीमा फिल्म प्रयोजनका लागि भनेर लेखिएको थियो भने केही नोटमा केही लेखिएको थिएन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?